कोभिडले अर्थतन्त्रमा संकुचन ल्याएको छ, सुधारको प्रयास गर्छौं : अर्थमन्त्री

काठमाडौं, कार्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री पौडेलले जिवनको रक्षा गर्दै जीविकारक्षामा सरकारले ध्यान दिने बताए । हिजोका नीति कार्यान्वयन गर्दै आवश्यक परेको खण्डमा नयाँ नीति बनाएर भएपनि जीवन र जीविका रक्षा सरकारको प्रयास रहन्छ, उनले भने ।

कोभिडका कारण रोजगारी, उत्पादन गम्भीर रूपमा प्रभावित हुँदा अर्थतन्त्रमा संकुचन आएको बताए । कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सृजना गर्नु पर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउनुपर्ने उनले बताए । कोभिडको असर कहिलेसम्म रहन्छ भन्‍न सकिँदैन । यो विश्वको साझा समस्या हो, उनले भने यहि असरका बीचमा पनि नीतिका प्रबन्धबाट उत्पादन बृद्धि गर्दै रोजगारी सृजना गरेर अर्थतन्त्रलाई गतिशिल बनाउन सरकार प्रतिबद्द छ, उनले भने 

उनले कोभिडसँग लड्न संसारमा भईरहेको प्रयासलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनु पर्ने बताए ।

मन्त्री पौडेलले सरकारको काम, कारबाहीको रचनात्मक आलोचनालाई सहज रूपमा लिने पनि बताए । आलोचनाले सरकारलाई सकारात्मक रूपमै सहयोग गर्छ, उनले भने, लोकतन्त्रलाई सुदृढ गर्न, पारदर्शिता र सुशासनमा मिडियाको भुमिका महत्वपूर्ण छ ।

सेजन अध्यक्ष भीम गौतमले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनस्उत्थान गर्ने गरि पुरक बजेट ल्याउन सुझाव दिए । सेजनले पारदर्शिता र आर्थिक अनुशासन गर्न, निजी क्षेत्र, प्रतिपक्ष दलहरू, नागरिक समाज, प्राज्ञिक क्षेत्रलगायत अर्थतन्त्रसँग सम्बन्धित सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै अर्थतन्त्र सुधारमा लाग्‍न अर्थमन्त्रीलाई सुझाव दिएको छ ।


SHARE THIS