टर्कीसँग जर्मनीको बराबरी


दाङ, असोज २२ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले बराबरी खेलेको छ । यूईएफए नेसन्स लिगको तयारी गरिरहेको जर्मनीले बुधबार राति भएको खेलमा टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक–एक गोल गरे । त्यस्तै टर्कीका लागि ओजान टुफान, इफ्कान कराक र केनान करामनले एक–एक गोल गरे । 

पहिलो हाफको इन्ज्यूरी समायमा जुलियनले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औँ मिनेटमा टुफानले टर्कीका लागि बराबरी गोल फर्काए । ५८ औँ मिनेटमा जर्मनीका लागि नहाउसले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । 

६७ औँ मिनेटमा टर्कीका लागि कराकले पुनः टर्कीका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा लुकासको गोलबाट जर्मनीले खेलमा अग्रता बनाउन सफल भयो । 

खेलको इन्ज्यूरी समयमा करामनले टर्कीका लागि बराबरी गोल फर्काउँदा जर्मनी टर्कीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । यूईएफए नेसन्स लिगको तेस्रो र चौथो चरणको खेलको तयारी स्वरुप जर्मनीले मैत्रीपूर्ण खेल खेलेको हो । 

नेसन्स लिगको समूह डी मा रहेको जर्मनीले ११ तारिखमो युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १४ तारिखमा स्विजरल्यान्डसँग खेल्नेछ । 


SHARE THIS