ईश्वर पोख्रेलको मन्त्रालय खोसियो । प्रधानमन्त्री निकट स्रोत भन्छ : पोख्रेललाई सबै मन्त्रालयको संयोजन गर्ने गरी बढुवा गरिएको हो


काठमाडौं असोज २८ । रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोख्रेलको मन्त्रालय खोसिएको छ । उनलाई उपप्रधानमन्त्री मात्रै राखिएको छ भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् ।  यसअघि पोख्रेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए । बुधबार गरिएको हेरफेरमा पोख्रेललाई विना बिभागीय मन्त्रीमा राखिएको छ ।

प्रधानमन्त्री निकट स्रोत भन्छ  ईश्वर पोख्रेललाई सबै मन्त्रालयको संयोजन गर्ने गरी बढुवा गरिएको हो 

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको एक महिनापछि मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्री बनेका छन् । काठमाडौं ९ बाट निर्वाचित कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री बनेका छन् । सिरहाका लीलनाथ श्रेष्ठ महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरूङ सञ्चारमन्त्री बनेका छन् ।

ईश्वर पोख्रेलको भने मन्त्रालय खोसिएको छ । उपप्रधान तथा रक्षामन्त्रीको भूमिकामा रहेका उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी जिम्मा दिइएको छ । 

प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएअनुसार पोखरेलको इच्छा अनुसारै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा दिइएको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन हुँदा नै पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा दिन खोजेका थिए । तर, अर्थमन्त्री बन्न ताकेता गरिरहेका पोखरेलले रुचि देखाएनन् ।

 पछि उनलाई रक्षा मन्त्रालयको जिम्मा दिइएको थियो । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सहमतिपछि उनलाई उपप्रधानमन्त्री बनाइएको थियो ।

पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्न अनिच्छा देखाएपछि ओलीले प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेका थिए । ज्ञवालीले पनि रुचि नदेखाएपछि प्रधानमन्त्रीको चाहना थन्किएको थियो ।

अहिले पोखरेल आफैंले प्रस्ताव गरेको स्रोतको भनाइ  छ । त्यसो त पोख्रेलको कार्यसम्पादनप्रति प्रधानमन्त्री त्यति सन्तुष्ट पनि थिएनन् । ओम्नीलगायत प्रकरणपछि प्रधानमन्त्रीसँग उनको सम्बन्ध झनै चिस्सिएको थियो ।

“ईश्वर पोख्रेल आफैंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोज्नुभएको हो । उहाँलाई अरू मन्त्रालयको कामको संयोजन गर्नेगरी थप जिम्मेवारी दिइएको हो । एक किसिमले भन्दा उहाँको यो बढुवा नै हो,” बालुवाटार स्रोतले भन्यो ।

पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मा दिएपछि रक्षामन्त्रालय भने प्रधानमन्त्री आफैंले हेर्ने भएका छन् ।


SHARE THIS