पीएसजी ३,० ले विजयी


दाङ, कार्तिक १६ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा पीएसजी नन्टेसमाथि ३ ,० ले विजयी भएको हो ।

नन्टेसको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागि अन्द्रे हेरेरा, केलियन एम्बाप्पे र पाब्लो साराबियाले एक(एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पीएसजीले सबै गोल गरेको हो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै हेरेराले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाए । उनले एम्बाप्पेको पासमा गोल गरेका हुन् ।

त्यस्तै ६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । नन्टेसका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमा एम्बाप्पेले गोल गरेका हुन् ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई ३,० को सहज जित दिलाएका हुन् । यो जितसँगै पीएसजीले ९ खेल खेल्दै सात खेलमा जित र दुई खेलमा हार बेहोर्दै २१ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । पराजित नन्टेस भने ८ खेलबाट ८ अंक जोड्दै तालिकाको १५औं स्थानमा छ ।


SHARE THIS