‘मन्‍त्रीले उत्तेजक भाषा प्रयोग गरेपछि संसद्‍मा तोडफोड भयो’

 

दाङ, असोज २०। नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले उत्तेजनात्मक भाषा प्रयोग गरेका कारण संसद्‌मा तोडफोड भएको बताएका छन् ।

जारी संसद् बैठकमा धारणा राख्दै उनले आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले उत्तेजनात्मक भाषा प्रयोग गरेका कारण संसदमा तोडफोड भएको बताएका हुन् ।

सोमबार संसदमा भएको कुर्सी(टेबल तोडफोडको घटनाले कांग्रेसको चित्त दुखेको र कांग्रेसलाई उक्त घटना राम्रो नलागेको बताए । “हिजो जे भयो हाम्रो पनि चित्त दुखेको छ । हामीले त्यसलाई राम्रो मानेका छैनौं । उत्तेजनाले त्यो घटना भयो,” नेता कनौडियाले भने, “आन्तरिक मामिला तथा कानुनमन्त्रीजीले उत्तेजनात्मक भाषा प्रयोग गर्नुभयो । त्यसको फलस्वरुप हाम्रा साथीहरु पनि उत्तेजनामा आउनुभयो ।”

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएको जिकिर गर्दै तोडफोडको सिद्धान्तमा कहिल्यै विश्वास नराख्ने पनि प्रस्ट्याउन खोजे । “नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । तोडफोड कुर्सी भाँच्ने सिद्धान्तमा कहिल्यै विश्वास गर्दैन,” नेता कनौडियाले भने ।

सरकारले विधि(प्रक्रिया मिचेर छापामार शैलीमा प्रतिपक्षसँग कुनै छलफल नगरी प्रदेशको नामकरण र राजधानीको प्रस्ताव गरेकोप्रति आफूहरुको आपत्ति रहेको उनको भनाइ थियो ।

“प्रदेशको नामकरण र राजधानीबारे बहस(छलफल गर्नुपर्नेमा विधि प्रक्रिया मिचेर, साथीहरुको अधिकार हनन् गरेर छापामार शैलीमा प्रस्ताव ल्याएकनमा आपत्ति थियो,” कनौडियाले भने ।


SHARE THIS