दाताले रकम उठाएर दुईवटा मेसिन दिए, कोसी अस्पतालले चलाउनै सकेन

पीसीआर रिपोर्टमा विलम्ब, विराटनगरमा पुगे ४१ सय संक्रमित

विराटनगर, कार्तिक ३ । विराटनगर महानगरपालिकामा दैनिक औसत डेढ सयको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन् । पीसीआर परीक्षणको नतिजा ढिलो आउने समस्याले सर्वसाधारण समस्यामा परेका छन् ।

स्वाब दिँदा ६ दिनसम्म कुर्नुपर्ने बाध्यता भएकै बेला समस्या समाधान गर्न भन्दै महानगरकै संयोजनमा उद्योगी(व्यवसायी, सांसद तथा राजनीतिकर्मीले सहयोग गरी कोसी अस्पताललाई पीसीआर र एक्ट्राक्ट मेसिन हस्तान्तरण गरे । तर, अस्पतालले ७६ लाख रुपैयाँ संकलन गरी दिएको दुईवटा मेसिनको अस्पतालले सदुपयोग नै गर्न सकेको छैन । मेसिनको क्षमताअनुसार सञ्‍चालन नहुँदा पीसीआर परीक्षण गराउने सर्वसाधारणलाई झन् सास्ती भएको छ । कोसी अस्पतालले दुवै मेसिनलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्न सकेको छैन ।

दातामध्येका एक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे भन्छन्, “सर्वसाधारणको रिपोर्ट आउनै पाँचदेखि ६ दिन लागेर हैरानी भएपछि हामीले विराटनगरका मेयर भीम पराजुलीकै सक्रियतामा सबैले मिलेर ठूलो रकम जुटाएर मेसिन खरिद गरेर हस्तान्तरण गर्यौं तर अस्पताल प्रशासनले सञ्‍चालन गर्नै सकेन ।” मेसिन खरिद गर्न सहयोग गरेका प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पनि दिएको प्राप्त साधनको सही सदुपयोग हुन नसक्नु दुःखद भएको बताए ।

कोरोना संक्रमण देखिएपछि घरमै होम आइसोलेसनमा गरहेका विराटनगरका चिकित्सक नारायण कुमारले स्वाब दिएर पनि रिपोर्ट आउन तीन दिनसम्म कुर्नुपरेको बताए । उनले भने, “बिरामीले छिट्टै रिपोर्ट आओस् भन्‍ने चाहन्छन् तर ढिलाइ हुँदा उसले अरुलाई पनि संक्रमण सार्ने खतरा रहन्छ ।” अहिले प्रदेशका अन्य प्रयोगशालामा समेत रिपोर्ट आउन ढिला हुने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

प्रदेश सरकारको प्रदेश प्रयोगशाला, कोसी अस्पताल, विराट मेडिकल कलेज, न्युरो अस्पताल, नोबेल मेडिकल कलेज, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,मेची अस्पताल र सुरुङ्‍गामा एकका लागि एक अभियानको प्रयोगशालाले निययमित रुपमा पीसीआर परीक्षण गर्दै आएका छन् ।

कोसी अस्पतालका मेसु डा। चुमनलाल दास स्वाब संकलन भई आउने नमुना अधिक हुने गरेकाले तुरुन्त रिपोर्ट दिन नसकिएको दाबी गर्छन् । उनले भने, “अधिक चापकका कारण पनि हामीलाई समस्या भएको हो । स्थानीय पालिकाहरुबाट धेरै परीक्षण गरिदिनुपर्‍यो भन्दै आग्रह गर्ने गर्छन् ।” संक्रमण कम भएका बेला सात आठ जनाको एकै ठाउँमा राखेर पुल विधिबाट परीक्षण हुने गरेकामा अहिले हरेक व्यक्तिको अलग अलग गर्नु परेको दासले दाबी गरे ।

कोसी अस्पतालमा अहिले दुईवटा मेसिन सञ्‍चालनमा छ । महानगरपालिकाले दिएको स्वचालित मेसिनको खर्च भने अधिक भएको कारण खर्च धान्‍नै कठिन भएको मेसु डा। दासको भनाइ छ । “सरकारले किट नदिएको र अस्पताल आफैंले खरिद गर्न समस्या भएको छ,” दासले भने, “२० लाख रुपैयाँ खर्च भइसक्यो । प्रतिगोटा किटको मूल्य सात सय रुपैयाँ पर्छ ।” प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले अहिले किटको अभाव नरहेको बताए । विराटनगरमा मात्र संक्रमितको संख्या चार हजारभन्दा अधिक भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सर्वसाधारणको रिपोर्ट आउन ढिला नहोस् भनेर नै सहयोग गरिएको सुनाए ।


SHARE THIS