भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै


दाङ, असोज २१ । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्ला केही दिनको तथ्यांक अनुसार संक्रमण र मृत्यु दर दुबै घट्दो क्रममा छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर क्रमशः घट्ने क्रममा छ । १ अक्टोबरमा ८६ हजार ८२१ संक्रमित २४ घण्टामा थपिएकामा क्रमशः घट्दै पछिल्लो २४ घण्टामा यो संख्या ६१ हजार २६७ मा आइपुगेको छ । 

भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ कोरोना संक्रमित थपिएका थिए । 

भारतमा हालसम्म संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ । 

भारतमा मृत्यु दर पनि ओरालो लागेको छ । अक्टोबर १ मा १ हजार १८१ संक्रमितको मृत्यु भएको थियो । त्यसयता क्रमशः घट्दै पछिल्लो २४ घण्टामा ८८४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्मकै सबैभन्दा धेरै एकै दिन जुन १७ मा २ हजार ३ संक्रमितको मृत्यु भएको थियो । 

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार ५६९ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

 


SHARE THIS