कर्णाली प्रदेशकी सचेतक भन्छिन्– शुक्रबार बैठक बस्छ, मुख्यमन्त्रीको बहुमत फर्किइसकेको छ

 

कर्णाली, कार्तिक ६ । नेकपा कर्णाली प्रदेश संसदीय दलको शुक्रबारका लागि तय भएको बैठक नरोकिने केही दिनअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिएकी छन् ।

केन्द्रबाट ठोस निर्णय नआएकाले प्रदेश संसदीय दलले आफ्नो अधिकार प्रयोग गर्ने उनको भनाइ  छ ।

“हामीले पहिले नै बैठक तय गरिसकेका हौं,” उनले भनिन्, “संसदीय दलमा विवाद देखिएपछि केन्द्रले मुख्यमन्त्री शाहीसहित दुवै पक्षलाई नेताहरूले केन्द्रमा झिकाएका थिए । त्यहाँ पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । त्यहाँ निचोड ननिस्किएपछि अब संसदभित्रै छलफल हुन्छ ।”

यद्यपि, मुख्यमन्त्री शाहीलगायत दुवै पक्ष काठमाडौं नै भएकाले बिहीबार बेलुकासम्म केही निर्णय आउन सक्ने उनको भनाइ छ ।

विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल छलफलमा बसेका थिए । तर, दुईजना अध्यक्षकै कुरा मिलेन । अलग–अलग प्रेस वक्तव्य जारी गर्ने परिस्थिति बनेपछि केन्द्रबाट सल्टिने सम्भावना कम हुँदै गएको त्यहाँको संसदीय दलको बुझाइ छ ।

मुख्यमन्त्री शाहीले बैठक राखे प्रधानमन्त्री केपी ओली पक्ष अनुपस्थित रहने बताएको छ । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्ताव फिर्ता लिन र शाहीले पनि प्रमुख सचेतक निलम्बन गर्ने कदम फिर्ता लिन निर्देशन दिइसकेकाले बैठकको उपादेयता नरहने गुलाबजङ्ग शाहले जानकारी दिए ।

“अहिले दुवैतर्फबाट चालिएका कदम फिर्ता लिने र बाँकी कुरा सरसल्लाहमा गर्ने भनेर चार बुँदे निर्देशन आइसकेको छ । हामी त्यहीअनुसार अघि बढ्छौं,” शाहले भने ।


SHARE THIS