१० दिने म्याद सकियो, ओली–प्रचण्डको प्रस्ताव बनेन

काठमाडौं, असोज १८ । गत असोज ६ गते सकिएको नेकपा सचिवालयको ६८औं बैठकले दस दिनभित्र पार्टी एकताको थाती रहेका काम टुङ्ग्याउने गरी प्रतिवेदन प्रस्तुत गर्न दुई अध्यक्षलाई जिम्मा दिएको थियो ।

सचिवालयले दिएको समयसीमा असोज १६ गते समाप्त भए पनि दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अझै पनि प्रस्ताव तयार पार्न सकेका छैनन् । प्रधानमन्त्री ओली र प्रचण्ड गएको बिहीबारदेखि लगातार छलफलमा बसेका पनि थिए । तर, उनीहरू बीचको छलफल मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको स्रोतले जानकारी दियो । त्यसमा पनि सहमति जुट्न सकेको छैन । मापदण्ड र मोडालिटीका विषयमा दुई अध्यक्षका आ–आफ्नै मत छन् । सहमतिको विन्दु पत्ता लाग्न सकेको छैन ।

“दुई अध्यक्ष र महासचिव विष्णु पौडेलसमेत भएर एकता–एकीकरणका बाँकी काम सक्न प्रस्ताव तयार पार्ने भनिएको थियो । अध्यक्षद्वयलाई दिएको समयसीमा सकिएको पनि दुई दिन भइसक्यो, आज भर्खर उहाँहरू विषयमा प्रवेश गर्नुभएको हामीले थाहा पाएका छौं, ” सचिवालयका एक नेताले भने ।

नेकपामा ३२ वटा विभागले अझै आकार पाउन सकेको छैन । विधानमा केन्द्रीय विभाग बढीमा ३५ सदस्यीय हुने व्यवस्था छ । तर, एकाधले मात्रै सदस्य विस्तार गर्न सकेका छन् । अधिकांशमा प्रमुख र उपप्रमुखमात्रै तोकिएका छन् ।

केन्द्रीय निकाय, ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषद्ले पनि नेतृत्वमात्रै पाएको छ । सदस्यहरू तोकिन बाँकी छ । अनुशासन, लेखा र निर्वाचन आयोगले पूर्णता पाउन नसक्दा काम प्रभावित भएको अमृतकुमार बोहोरा बताउँछन् । अनुशासन आयोगले पूर्णता पाउन नसक्दा नियमनका कामहरू हुन नसकेको, सम्पत्ति छानबिन, जाँचबुझ प्रक्रिया पनि अवरूद्ध हुन पुगेको उनको निष्कर्ष छ ।

त्यस्तै प्रवास समन्वय र विशेष जिल्ला कमिटीहरूको अवस्था पनि निकायहरूको भन्दा भिन्न छैन । एकताको काम २०७६ मंसिर १ गतेयता अघि बढ्न सकेको छैन  । पछिल्लो पटक नेकपाले प्रवास समन्वय कमिटी गठन गरेको थियो । इन्चार्जमा विन्दा पाण्डे सहइन्चार्जमा लक्ष्मण पन्त, संयोजक युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका थिए ।

त्यसपछि नेकपाको एकता अघि बढ्न सकेको छैन । गत माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकले १५ दिनभित्र एकता–एकीकरणका अधुरा काम सक्ने निर्णय गरेको थियो ।

तर, नेकपा विवादमा फस्यो । एकता प्रक्रिया जहाँको तहीँ रह्यो । गत भदौ २६ गते सकिएको स्थायी कमिटीको पाँचौं बैठकले असोज महिनाभित्र एकताको काम सक्न निर्देशन दिएको छ । त्यहीअनुसारै अध्यक्षद्वयले दस दिनभित्र प्रस्ताव तयार पार्ने बताएका थिए । बल्ल आइतबारबाट छलफल सुरु भएको नेताहरूले बताएका छन् ।


SHARE THIS