कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ

स्याङ्जा, असोज २७ । स्याङ्जा, पुतलीबजार नगरपालिका १ बस्‍ने ३५ वर्षीया मनकुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ३, कालीमाटी बस्‍ने गुल्मी घर भएका ४१ वर्षीय कृष्ण परियार छन् ।

सोही नगरपालिका १ स्थित नेपाल टेलिकमको कम्पाउन्डनजिक बाल मन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले मनकुमारीलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुलेपछि घटनामा संलग्‍न कृष्णलाई प्रहरीले पक्राउ गरेको हो ।


SHARE THIS