सुनसरीमा निषेधज्ञा

विराटनगर, असोज ३० । कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यसाथ सुनसरीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी भएको छ । 

मठ मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना प्रकाशित गरी जनाएको छ ।

प्रशासनले शक्तिपिठ, मन्दिर तथा पन्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिक रुपमा गरिने पूजामा रोक लगाइएको हो । मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन र पूजा गर्न, भक्ति संगीत तथा भजन कीर्तनमा पनि रोक लगाइएको हो ।

चाडपर्वमा हुने मेला जात्रा गर्न, राजनीतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न, उद्‍घाटन र शिलान्यास गर्न पनि प्रशासनले रोक लगाएको जनाएको छ । साथै सामूहिक रुपमा भेला भएर गरिने क्रियाकलापहरुमा पनि रोक लगाएको प्रशासनको भनाइ छ ।

कोरोना संक्रमणसँगै मृत्युदर वृद्धि हुँदा जोखिम थपिएकाले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।


SHARE THIS