गलत सूचना र सल्लाहलाई क्षमा दिइन्‍न स् सञ्चारमन्त्री गुरुङ

काठमाडौं, असोज २९ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् । 

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले भने,  ूतर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिइ दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस संकटमय घडीमा गुणस्तरीय इन्टरनेट सेवा दिएर लाखौंलाख बालबालिकाको अध्ययन अध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंल्याए । उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्‍याउन  सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताए । 

आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिए । नेपाल सरकारको  समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उनको स्पष्टोक्ति थियो । 

सरकारका कामसम्बन्धी सहीसही सूचना तत्काल र व्यवस्थित ढंगले एकद्वार प्रणालीबाट जनसमक्ष पुर्‍याउन विभिन्‍न मन्त्रालयका प्रवक्तासँग मिलेर काम गरिने र सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृति विसङ्गतिलाई हटाउन पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसँग पनि सहकार्य गरिने छ’, मन्त्री गुरुङले भने ।

यसअघि सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयसम्बद्ध १८  विभाग र निकायबारे जानकारी प्रस्तुत गर्दै मन्त्रालय परिवारका तर्फबाट नवनियुक्त सञ्चारमन्त्री गुरुङको निकट विगतको अनुभव कार्यदक्षता र स्पष्ट निर्णय गर्ने क्षमताले मन्त्रालयका कार्यसम्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।

 यसअघि मन्त्री गुरुङले नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हालेका थिए । 


SHARE THIS