भारतीय अमेरिकीको मत भारतीय आमाकी छोरी कमलालाई कि मोदीका साथी ट्रम्पलाई ?

डेमोक्रेटका समर्थकहरुलाई मोदी र ट्रम्पको सम्बन्धबारे चासो छैन किनकी उनीहरुसँग कमला ह्यारिस् छन्


वाशिङ्टन, असोज २५ । ऐतिहासिक रुपमा हेर्दा भारतीय मूलका अमेरिकी नागरिकहरु डेभोक्रेटको पक्षमा रहँदै आएको पाइन्छ तर पछिल्ला केही वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीसँग ट्रम्पको सम्बन्धले रिपब्लिकन पार्टीलाई पनि समर्थनको बाटो खुलाइदिएको छ । 

फ्लोरिडाका व्यवसायी डेनी गेइक्वाद रिपब्लिकनका ठूला समर्थक हुन् । र एकदिन शनीबारका दिन उठ्न नपाउँदै उनको फोनको घण्टी बज्यो । राति नै ट्रम्पको चुनाव अभियान लन्च भएकाले पनि उनको वाट्सएप ग्रुपमा लगातार म्यासेज आइरहेको थियो । त्यसबेला ट्रम्प र मोदीले हातमा हात राख्दै ठूलो समारोहमा एकअर्काको तारिफ गरिरहेको भाइरल भिडिओ सामाजिक संजलामा लाखौँपटक हेरिएको थियो र लगत्तै २ हजार भन्दा बढी भारतीय अमेरिकीहरुले च्याटग्रुपमा यसलाई धमाधम शेयर गरिरहेका थिए । गेइकवाद पनि तिनै मध्येका एक हुन् । 

उनी घरजग्गा विक्री सम्बन्धी काम गर्छन् र फ्लोरिडाको रिपब्लिकन स्थापनासँग उनको पनि बलियो सम्बन्ध रहँदै आएको उनी बताउँछन् । यसबीच मोदी र ट्रम्पको ऐतिहासिक अन्तर्क्रिया आफूहरुका लागि ज्यादै उत्साहजनक र अप्रत्याशित भएको उनले बताए । 

उनी भन्छन्, “राष्ट्रपति ट्रम्पलाई हामी जस्ता भारतीय अमेरिकीहरुको आवाज बाहिर ल्याउने अवसरका रुपमा साक्षात भगवान्ले पठाएका हुन् ।” उनको विश्वासमा भारतीयहरु माझ ट्रम्पको प्रभावले आगामी नोभेम्बर ३ को चुनावमा पक्कै पनि केही नतिजा ल्याउनेछ । 

अर्कोतर्फ डेमोक्रेटका समर्थकहरुलाई मोदी र ट्रम्पको सम्बन्धबारे कुनै चासो छैन किनकी उनीहरुसँग कमला ह्यारिस् छन् जो उपराष्ट्रपतिका लागि निर्वाचित अमेरिकाकै पहिलो एसियाली अश्वेत महिला हुनेछिन् । र चुनावमा उनको उपस्थितिले डेमोक्रेट पार्टीमा भारतीय अमेरिकीहरुको समर्थन बढाइसकेको थुप्रै प्रमाणहरु देख्न सकिन्छ । 

आफ्नो चुनाव प्रचार अभियानमा उनले आफ्नी भारतीय आमाका बारेमा धेरै चर्चा गर्ने गरेकी छन् । केही समय अगाडिसम्म पनि धेरै भारतीय अमेरिकीहरुले ह्यारिसलाई अस्वेत राजनीतिज्ञ मात्र ठान्ने गरेका थिए तर आफ्नी आमाको भारतीय मूललाई उनले जसरी अपनाएकी छन् त्यसले धेरै समुदायमा गहिरो प्रभाव पारेको देखिन्छ । 

उद्योगी रमेश कपुरका अनुसार अहिले विशेषगरी ‘फन्ड रेजर’ मा कमला भारतीय आमाकी छोरी हुनुको प्रभाव सबैभन्दा स्पष्ट देख्न सकिन्छ । जस्तै सेप्टेम्बरको अन्तिम हप्तामा बाइडेनका लागि आयोजना गरिएको एक भर्चुअल समारोहमा भारतीय समुदायले एक रातमै ३३ लाख डलर संकलन गरेको हो जबकी उनीहरुको लक्ष्य १५ लाख डलर मात्र रहेको थियो । यो एकै रात संकलित सबैन्दा ठूलो फन्डको रेकर्ड रहेको र सबै कमलाकै कारण भएको बाइडेनले पनि यसअघि स्वीकार गरेका थिए । 

भारतीय मूलका अमेरिकी मतदाताहरुको सङ्ख्या कति छ भन्ने स्पष्ट तथ्याङ्क छैन तर विभिन्न राजनीतिक समुहका आधारमा यसको अनुमान लगाउनुपर्दा उनीहरु १६ देखि २० लाखसम्म हुन सक्ने बताइएको छ । यसकारण पनि अहिले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टी आक्रामक रुपमा समर्थन पाउन प्रयत्नरत् छन् । 

गेइकवाद भन्छन्, “हामी अहिले अदृश्य छैनौँ र हामीले हालेको मत वास्तवमै गन्ती हुनेछ भन्ने सबैलाई आभास हुँदै गएको छ । ” उनले आफ्नो व्यक्तिगत लक्ष्य नै फ्लोरिडामा रिपब्लिकन भारतीय–अमेरिकी मतदातालाई १० प्रतिशतले बढाउनु रहेको बताए । 

रिपब्लिकनहरुले भारतीय अमेरिकी समुदायमा स्थान पाउन वर्षौँदेखि प्रयास गर्दै आएका छन् तर २०१६ मा आएर मात्र उनीहरुले केही सफलता हासिल गरेका हुन् । त्यस समय सबैले ट्रम्पलाई ‘रेडिकल इस्लामिक आतङ्क’ विरुद्ध खडा हुने नेताका रुपमा लिएका हुन् । अधिकांश हिन्दु भारतीय अमेरिकीहरु यो विषयमा अत्यन्तै गम्भीर रहने गर्दछन् । 

उता कपुरका अनुसार डेमोक्रेट मानव अधिकार दुरुपयोग सम्बन्धी आवाज उठाउन कहिल्यै पछि हट्ने छैनन् । उनको यो बयान कश्मीरको मुद्दालाई भारतले हिंसात्मक तरिकाले सम्हालेकोसँग सम्बन्धित छ । बाइडेन र ह्यारिस दुवैले कश्मीरको मुद्दामा मोदी सरकारको नीतीप्रति असमर्थन जनाउँदै आएका छन् । र कपुरका अनुसार भारतका लागि बाइडेन भन्दा ट्रम्प उचित हुनेछन् भन्नु पूर्ण रुपमा गलत हो । 

ट्रम्पका भारतीय समर्थकहरुले यसअघि ‘नमस्ते ट्रम्प’ अनि ‘हाउडी मोदी’ जस्ता प्रचारगत् समारोह पनि सञ्चालन गरिसकेका छन् यिनै स्लोगन सहित भारत र अमेरिका दुवै देशमा मोदी र ट्रम्पबीचको सम्बन्ध समर्थन गर्न ठूलो र्याली निकालिएको थियो । 

त्यस्तै राष्ट्रपति ट्रम्प कोरोना पोजेटिभ भएलगत्तै सिकागोमा रहेका हिन्दु भारतीय अमेरिकीहरुले उनको र प्रथम महिला मेलानीयाको सुस्वास्थ्यका लागि हवन गरेको खबर पनि बाहिर आएको थियो । यस किसिमका समारोहले यतिबेला अप्रत्यक्ष रुपमा भारतीय अमेरिकीहरु माझ ट्रम्पलाई ठूलो ऊर्जा दिइरहेको छ । 

२०२० को ‘एसियन अमेरिकन भोटर सर्वे’ मा ६५ प्रतिशत जो बाइडेनको समर्थनमा र केबल २८ प्रतिशत मात्र ट्रम्पको पक्षमा रहेको पाइएको थियो । तर यसमा डेमोक्रेटका लागि एक मात्र चुनौति भनेको यो अन्तरलाई वास्तविकता बनाउनु हुनेछ ।  ( बीबीसी


SHARE THIS