अस्पतालबाट खनालले भने : रक्तचाप उच्च विन्दुमा पुगेछ, भोलिसम्म डिस्चार्ज हुन्छु

काठमाडौं, असोज २९ । उच्च रक्तचापपछि ह्‍याम्स अस्पताल भर्ना भएका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

अचानक रक्तचापको समस्या देखिएपछि खनाललाई बुधबार साँझ धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल भर्ना गरिएको थियो ।

बिहानबाट सुधार आएको खनालले बाह्रखरीलाई जानकारी दिए । “मलाई एकदम हाइ प्रेसर भयो । खोकी पनि लागिरहेको थियो । श्‍वासप्रश्‍वासमा पनि समस्या देखियो,” खनालले भने, “ह्‍याम्सले राम्रोसँग निदान गर्‍यो । सफल पनि भयो । अहिले उपचारको क्रम सुरु गरेको छ । आजबाट धेरै सुधार देखिएको छ ।”

खनालले भोलिसम्म डिस्चार्ज हुने जानकारी दिए । श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पनि खनाललको कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको उनका स्वकीय कृष्ण भट्टराईले जानकारी दिए । 


SHARE THIS