प्रदेश पाँचको राजधानी दाङ तोक्ने तयारी, नाम पनि टुङ्गो लगाइँदै


दाङ, असोज १६ । पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्ने तयारी गरिएको छ । प्रदेशको नाम भने लुम्बिनी बनाउने तयारी रहेको नेकपाका नेताहरुले बताएका छन् । प्रदेश नम्बर पाँचको राजधानी दाङ तोक्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति गरी तल परिपत्र गरिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

नेकपा प्रदेश पाँच संसदीय दलले शनिबार बैठक बोलाएको छ । बैठकमा प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव ल्याउने तयारी रहेको ती सदस्यले जानकारी दिए ।

“प्रदेश नम्बर पाँचको मुकाम दाङको भालुवाङ तोक्ने गरी अध्यक्षद्वयले निर्देशन पठाउनुभएको छ भन्ने बुझेका छौं,” सत्तारूढ दलका एक प्रदेशसभा सदस्यले भने, “भोलि बस्ने संसदीय दलमा प्रस्ताव आएपछि भन्न सकिएला ।”

पाँच नम्बर प्रदेशसभाका सदस्य तेजकुमार ओलीले शनिबार संसदीय दलको बैठक बोलाइएको बताए । “प्रदेशको राजधानी टुङ्गो लगाइयो भन्ने बुझेका छौं । प्रस्ताव आएपछि मात्रै भन्न सकिन्छ,” उनले भने । उनले राजधानी टुङ्गो लागे प्रदेशको नामका विषयमा विमति नरहेको बताए । उनका अनुसार नाम लुम्बिनी प्रदेश राख्न सबै सहमत छन् ।

दाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक सांसदले भालुवाङलाई राजधानी तोक्न लागिएको बताए । “यस विषयमा अध्यक्षद्वय सहमत भइसक्नुभएको छ,” ती सदस्यले भने, “अध्यक्षद्वयले प्रदेश कमिटीलाई निर्देशन नै दिएको हामीले बुझेका छौं ।” नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पाँच नम्बर प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने तयारी आफूले पनि बुझेको बताए ।

“मैले पनि भोलि बैठक राखेर टुङ्ग्याउने तयारी भइरहेको छ भन्ने सुनेको छु । तर, नेताहरूसँग बुझ्न पाएको छैन,” उनले भने ।

प्रदेशको राजधानी दाङ लैजाने कि, अहिले रहेको बुटवललाई कायम राख्ने भन्ने विषयमा नेकपाभित्रै विवाद थियो । महासचिव विष्णु पौडेलको जोडबल बुटवललाई नै कायम गर्नुपर्छ भन्ने थियो । मुख्यमन्त्री तथा पार्टी इन्चार्जसमेत रहेका शङ्कर पोखरेल दाङकै लागि सङ्घर्ष गर्दै आएका थिए ।

अन्ततः अध्यक्ष दुवैलाई पोखरेलले राजी गराएको नेकपाका नेताहरू बताउँछन् । ८७  सदस्यीय प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । काँग्रेसका १९, सङ्घीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र जसपाका १–१ सांसद छन् ।


SHARE THIS