‘डा. केसीको जीवनरक्षाका लागि सरकारले तत्काल पहल थालोस्’


दाङ, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न सरकारलाई आग्रह गरेका छन् ।

संक्षिप्त कुराकानी गर्दै नेता खनालले केसीको जीवनप्रति सरकार संवेदनशील हुनुपर्ने बताएका हुन् । “गोविन्द केसीले अनशन गरेको आज २३ दिन पूरा भइसक्यो । अहिले उहाँको स्वास्थ्य अवस्था गम्भीर भएको छ । यो कुरालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । डा। केसीसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्छ । त्यसका निम्ति म सरकारलाई चाँडोभन्दा चाँडो कदम चाल्न आग्रह गर्छु ।”

केसी अनशन बसेको यो १९औं शृङ्खला हो । ६ बुँदे माग राख्दै केसी अनशन बसेको आज २३ दिन भएको छ । केसीको जीवन र मागप्रति गम्भीर हुन नेकपाकै नेताहरूले सरकारको ध्यानकर्षण गराउन थालेका छन् । केही दिनअघि स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि केसीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।



SHARE THIS