राजपुरमा अध्यक्षको निर्णय बहुमत कार्यपालिका सदस्यद्वारा खारेज


दाङ, असोज २९ । राजपुर गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय विवादमा परेको छ ।

गाउँपालिका अध्यक्ष लोकराज केसी संयोजक रहेको शिक्षा समितिले असोज २६ गतेको बैठकबाट विद्यालय ब्यवस्थापन समितिको म्याद सकिएका विद्यालयमा वडा अध्यक्षको अध्यक्षतामा रहने गरी विद्यालय ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको थियो ।

यो निर्णय विद्यालय ब्यवस्थापन समिति सम्बन्धमा शिक्षा समितिको निर्णय, शिक्षा ऐन, शिक्षा नियमावली र गाउँपालिकाको शिक्षा कार्यबिधिभन्दा बिपरीत रहेको भन्दै गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यहरुले निर्णय खारेज गरेको घोषणा गरेका छन् ।

सो जानकारी आफूहरुले प्रमुख प्रशासकीय अधिकृतमार्फत गाउँपालिकाको कार्यालयमा बुझाइसकेको वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोकाले जानकारी दिनुभयो । गाउँपालिकामा बुझाइएको पत्रमा उपरान्त शिक्षा समितिले यस्ता गैरकानूनी निर्णय नगरोस् भनेर सचेत गराइएको छ ।

१५ सदस्यीय गाउँ कार्यपालिकामा बहुमत कार्यपालिका सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ जना रहेका छन् । अध्यक्ष उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको थियो ।

निर्णय खारेज भएको जानकारी गराउँदै कार्यान्वायन नगर्न पत्राचार गर्ने कार्यपालिका सदस्यहरुमा वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका, वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, वढा नम्बर १ का अध्यक्ष बिष्णुबहादुर बुढासहित कार्यपालिका सदस्यहरु लिलमति ओली, मोहनलाल बिक, निमकुमारी झाँक्री, भक्तबहादुर बिक, शान्ति चौधरी र केशमला सुनार रहनुभएको छ ।


SHARE THIS