त्रिवि परीक्षा नियन्त्रकलाई कोरोनापछि कार्यालय बन्द


काठमाडौं, असोज १६ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज शुक्रबार सेवा नदिने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो।

अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रक जोशी होम आइसोलेसन बसेका छन्।

विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए।

उक्त बैठकमै सहभागी आइओएमकी डिनसमेत रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो।

शाहमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षण गरिएकोमा उक्त बैठकमै सहभागी जोशीमा पनि पोजेटिभ रिपोर्ट आएको हो। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियन्त्रणकको दैनिक सम्पर्कमा आएका शाखा, महाशाखा र गोप्य शाखाका कर्मचारी पनि होम क्वारेन्टिन बसेको बताएको छ।


SHARE THIS