प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव सहित ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण


काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सहित ६७ सुरक्षाकर्मीलाई कोरोना 

भाइरस (कोभिड १९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले  भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।



SHARE THIS