लकडाउन र यसले श्रमिकलाई पारेको असर

 



प्रेमबहादुर राम्जा मगर 

दाङ, २३ असोज । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगणेश टोल निवासी ५८ वर्षीय देवराज विकले १५ वर्षको उमेरदेखि कृषि औजार निर्माण गर्ने काम गर्न सुरु गरेका हुन् । आफूले जान्ने भएदेखि औजार निर्माण गर्ने कार्य सुरु गरेका विकले यो वर्षको जस्तो समस्या कहिल्यै पनि भोग्नुपरेन । 

घाँस काट्नका लागि हँसिया, बारी खनीखोस्री गर्नका लागि फरुवा, घरायसी काम गर्नका लागि खुर्पा, चुलेसी, खुकुरीजस्ता कृषिजन्य औजार निर्माण गर्दै आएका विकले यसवर्षको लकडाउनले आर्थिक रुपमै समस्या व्यहोर्नुपरेको दुखेसो पोखे । निकै लामो समय बालीघरे प्रथाका रुपमा काम गरेको अनुभव संगालेका देवराजले त्यसलाई माया मारेर २० वर्षदेखि बबई गाउँपालिकाको हापुरे बजारमा कृषि औजार खुकुरी निर्माण तथा मर्मत केन्द्र स्थापना गरेर काम गर्दै आएक छन् । 

विकले लकडाउन नहुने समयमा मासिक रुपमा १० हजारसम्म आम्दानी गर्दै आएकोमा अहिले त्यस्तो व्यापार हुन नसकेको बताएका छन् । ‘पसल बन्द गर्न कसैले आग्रह त गरेनन्, मेरो व्यापार सिजनमा पनि राम्रोसँग भएन,’ उनले दुखेसो पोखे, ‘व्यापार राम्रो नभएपछि कसरी जीवन धान्न सकिन्छ र ? सहयोगसमेत माग्न कतै गइनँ जेनतेन जीवन धानियो ।’ उनले प्रतिप्रश्न गरे– देशमा लकडाउन भएपछि पसलमा मान्छे आउने कुरा भएन, व्यापार पनि कसरी हुन्छ र होइन ?

यस्तै बबई गाउँपालिका ४ निवासी ५१ वर्षीय मैतु परियारको हापुरेमा रहेको न्यू मोडल टेलरमा पनि अन्य वर्षको जस्तो राम्रो व्यापार भएन । २०४६ सालदेखि सिलाई कार्यमा सहभागी भएका परियारले केही वर्ष बालीघरे प्रथामा समेत काम गरे । परियारले २०६५ सालदेखि बबई गाउँपालिकाको हापुरे बजारमा टेलर स्थापना गरेर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।  

मैतुले गएको पुस महिनामा राम्रो व्यापार हुन्छ कि भनेर पाँच लाख बराबरको काँचो कपडा पनि ल्याए । दुई छोरालाई समेत टेलरमा काम गराउँदै आएका मैतुले पाँच लाखको कपडावाट कम्तीमा १० लाखको व्यापार गरेर डेढ लाख कमाइ गर्ने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । 

सहज समय भएको भए मैतुले पाँच लाखका कपडा अर्कोपटक ल्याउनुपर्ने वेला भइसकेको थियो । ‘समय नै त्यस्तै भएपछि कसरी राम्रो हुन्छ र ? बितेको ६ महिना कसरी बिते आफैँलाई पत्तो छैन,’ उनले भने, ‘पसल लामो समयसम्म बन्द रहेपछि जीवन कसरी चल्छ ? तपाईंले जसरी चलाउनुभयो, मैले पनि त्यस्तै गरी चलाए हूँला ?

देवराज र मैतुले आफ्नो परम्परागत पेसाबाट अहिलेसम्म परिवार पाल्ने मात्रै होइन, सन्तानको पढाइ, खाना, कपडादेखि अन्य दैनिक कार्यका लागि आवश्यक पर्ने रकमको समेत जोहो गर्दै आएका छन् । आफ्ना पुर्खामार्फत सीप हस्तान्तरणका रुपमा व्यवहारमा लागू गरेका देवराज र मैतुले जीवनभर पुख्र्यौली पेसालाई जीवन धान्ने पेसाका अँगालेका छन् । उनीहरुले मरुन्जेलसम्म पुख्र्यौली पेसालाई अँगाल्ने बताए ।  

यस्तै, शान्तिनगरका २५ वर्षीय हुमबहादुर विकले पुख्र्यौली पेसा नगरी हापुरे बजारमा ब्याग पसल सञ्चालन गरेका छन् । पुख्र्यौली पेसा नगरी आफ्नै ढंगले ब्याग पसलको मालिक बनेका विकलाई लकडाउनले निकै सताएको छ । चैत्र महिनादेखि भदौसम्म कम्तीमा ६ लाखको व्यापार गर्ने उनको विश्वास थियो । तर, ६ महिना पसल बन्द भएपछि कसरी जीवन चलाउन सकिन्छ ? 

यता जिल्ला प्रशासन कार्यालय दाङमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले चैत्र २१ गतेदेखि जेठ ८ गतेसम्म करिब २९ हजार परिवारलाई राहत वितरण गरेको तथ्यांक उपलब्ध गराएको छ । केन्द्रका प्रमुख विश्व अर्यालका अनुसार जिल्लामा २९ हजार ८ सय ९० घर परिवारलाई राहत वितरण गरिएको छ । 

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई स्थानीय तहले उपलब्ध गराएको तथ्यांकअनुसार करिब दुई महिनाको अन्तरालमा ६ लाख १८ हजार ९ सय ११ किलो चामल, ३५ हजार ६ सय १ किलो दाल, २६ हजार ८ सय ९४ किलो आयोडिन नुन, २४ हजार ५६ लिटर खानेतेल, २१ हजार ६ सय ४२ किलो नुहाउने साबुन, दुई सय किलो आलु, ५७ किलो टमाटर, १९० किलो सोयाबिन, १२० किलो काउली–गोभी वितरण गरिएको थियो । 

जिल्लामा सबैभन्दा धेरै तुलसीपुरले ८ हजार १ सय १५ घरधुरीलाई राहत वितरण गरेको उल्लेख गरेको छ । त्यसपछि घोराही उपमहानगरपालिकाले ५ हजार ४ सय ४३ घरधुरीलाई राहत वितरण गरेको जनाएको छ । लमही नगरपालिकाले ३ हजार ३ सय ४८ घरधुरीलाई राहत वितरण गरेको छ । 

यस्तै, जिल्लामा रहेका गाउँपालिकाले पनि राहत वितरण गरेको जनाएका छन् । जिल्लाको रापती गाउँपालिकाले ३ हजार ५ सय ३३ घरधुरी, दुई हजार ९ सय ८६, राजपुरले १ हजार ९ सय ७९, बंगलाचुलीले १ हजार ५ सय ८७, दंगीशरणले ७ सय ५९, शान्तिनगरले १ हजार १ सय ९५ र बबई गाउँपालिकाले ९ सय ४५ घरधुरीलाई राहत वितरण गरेको जनाएका छन् । 

लकडाउनको समयमा श्रमिक तथा विपन्न समुदायका नागरिकलाई खाद्यान्नको समस्या रहेको भन्दै स्थानीय सरकारले आवश्यकताका आधारमा राहत वितरण गरेको जनाएका छन् । यसमध्ये देवराज, मैतु र हुमबहादुर कसैले पनि राहत प्राप्त गर्न सकेका छैनन् । लकडाउनका कारण काम नै ठप्प भएपछि जीवन धान्न निकै समस्यामा परेका उनीहरुले निकै कष्टका साथ ६ महिना काटेको जनाएका छन् । 

राहत उपलब्ध गराउने सन्दर्भमा जानकारी लिन खोज्दा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जातीयताका आधारमा भन्दा पनि आवश्यकताका आधारमा राहत उपलब्ध गराएको जानकारी दिए । हामीले कसको घरमा खाद्यान्नको समस्या छ, कसको छाक बसेको छ त्यसैका आधारमा राहत वितरण गरेका हौँ,’ उनले भने, ‘हामीले कसैलाई पनि नदो¥याई, कसैलाई नछुटाई राहत उपलब्ध गराएका छौँ, अहिले पनि कसैलाई समस्या भएको अवस्थामा हामीलाई सम्पर्क गर्न सक्छन् ।’ 

यस्तै, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले राहतलाई अधिकारका रुपमा लिएपपछि श्रमसँग साट्दा त्यो संख्या घटेको बताए । उनले भने, ‘हामीले जिल्लामा धेरै नागरिकलाई राहत वितरण गरेका छौँ ।’ राहतलाई अधिकारका रुपमा लिएपछि कार्यपालिका बैठकले श्रमसँग राहत साटेर उपलब्ध गराउने भनिएपछि ८ हजारबाट एकैपटकमा दुई सयमा आएको उनले बताए ।  

‘हामीले मजदुर, विपन्न तथा रोजगार गुमाएका परिवार विशेषगरी बिहान–वेलुकाको छाक बसेका र चुलोे बाल्न पनि निकै समस्यामा परेका नागरिक र परिवारका लागि राहत उपलब्ध गराउने नीति लिएका हौँ,’ उनले भने, ‘तर, सबैले अधिकारका रुपमा सम्झँदा निकै समस्या परेको थियो ।’

वडा कार्यालयको सिफारिसमा जिल्लाका १० स्थानीय तहले एक सयवटा वडामार्फत राहत वितरणको कार्यलाई दुई महिनासम्म जारी राखेका थिए । लकडाउन सुरु भएको पहिलो चरणको राहत वितरणमा निकै जोडदारका साथ लागेका स्थानीय तहले अहिले पनि आवश्यकताका आधारमा राहत वितरण कार्यलाई लिएको र नीतिका आधारमा जारी राखेको जनाएका छन् । 

उता, घोराही उपमहानगरपालिकाले पनि दोस्रो चरणको राहत कार्यक्रमलाई श्रमसँग जोडेको थियो । पहिलो चरणमा निकै सकसका साथ राहत वितरण कार्यलाई बस्तीस्तरमा लगेको घोराहीले अहिले श्रमसँग जोडेर राहत वितरण गर्दै आएको छ । अहिले लकडाउन केही खुकुलो भएपछि राहत माग्न आउने नागरिकको कमी रहेको छ । ‘श्रम गर्ने वातावरण तयार भएपछि राहत माग गर्नेको संख्या छैन,’ घोराही उपमहानगरको विपत् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले भने, ‘अब कसैलाई राहत दिनुपर्दैन ।’ 



SHARE THIS