कोरोनाका कारण सुस्ताए नमुना काम - कहिले सकिन्छ पत्तो छैन



प्रेमबहादुर राम्जा मगर 

दाङ, २३ असोज । 

घटना नम्बर १

गएको भदौँ महिनामा दाङको बेलझुण्डीमा रहेको रंगशालामा प्रदेश ५ को मुख्यमन्त्री कप फुटबल प्रतियोगीता भयो । निर्माणकै क्रममा रहेको रंगशालामा फुटबल प्रतियोगीता सञ्चालन भए पनि केही खेल घोराहीको भरतपुर खेल मैदानमा सञ्चालन गर्नुपर्ने बाध्यता रह्यो । 

निर्माणकै क्रममा रहेका कारण प्राबिधीक समस्या भएर केही खेल घोराहीमा गर्नु परेको हो  । तत्कालीन बाँकेको क्याप्टेनको जिम्मेवारीमा रहनुभएका बिक्रमसिंह ठकुरीले समस्याका बीचमा पनि खेलेको बताउनुभयो । २०७५ सालको अन्तिमतिर राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरेर निर्माण सुरु गरिएको रंगशाला समयमै निर्माण सम्पन्न नहुँदा मुख्यमन्त्री कप फुटबल प्रतियोगीता समेत प्रभावित बनेको थियो । 

उक्त रंगशाला निर्माणका पुर्ण सम्मन्न हुन नसक्दा अहिले पनि  रंगशाला हस्तान्तरण भएको छैन । निकै सुस्त गतिमा निर्माण भएको रंगशालाले कोरोना बन्दाबन्दीको कारण मार खेप्यो । १०० दिन लामो बन्दावन्दीका कारण रोकिएको काम बन्द खुल्दा समेत कच्चा पदार्थको  अभावले अधुरो नै भयो भने बन्दाबन्दीको समयमा निर्माण कम्पनीले कामदारलाई छुट्टिमा घर पठायो । कोरोनाको सक्रमणको जोखिम काम गर्ने समयमा बढी हुने देखिएका कारण कामदार भीड हुने भएका कारण उनीहरु घर गएका हुन् । जसले गर्दा निर्माण कम्पनीले असारसम्म सम्पन्न गर्नुपर्ने काम भए पनि अहिलेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्न सकेको छैन । 

हालसम्म ४ सय ६२ सिट क्षमता रहेको दर्शक बस्ने भिआइपीप्याराफिट  र मैदानको निर्माण कार्य सकिएको छ । तर पनि अहिलेसम्मपनि रंगशालाका साना काम भने बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर आशकुमार रायले जानकारी दिए । 

२४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाको लागतमा सेन्थेटिक एथलेक्टिस ट्रयाक, फुटबल मैदान, नाली निर्माण, भिआइपी प्याराफिट, मिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण सकिएका छन् । रंगरोगन तथा अन्य सामान्य कामहरु बाँकी रहेका छन् । तर पनि यो फुटवल मैदानमा २०७५ चैत्रदेखि २०७६ बैशाखसम्म आठौ राष्ट्रिय खेलकुदका खेलहरु भने सम्पन्न भएका थिए ।  

२०७५ असार ७ गते सम्झौता भई आठ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमाउल्लेख गरिएको छ । तर २०७७ असोज महिना भइसक्दा पनि यो निर्माणको काम सम्पन्न भएको छैन । निर्माणधिन रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता, प्रदेश एक्स्पो सञ्चालन भएको भएता पनि त्योसंगै कोरोनाको कारण सुरु भएको बन्दाबन्दी  भएपछि काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । तर कोरोना सक्रमणको सुरुवात २०७६ फागुनमा हुँदा यसको सम्झौता अबधि सकिएको लगभग एक वर्ष भइसकेको थियो । 

घटना नम्बर २ 

तुलसीपुरको न्यूस्टार बोर्डिङका प्रिन्सिपल समेत रहेका शरण जिएमलाई तुलसीपुरले गत आर्थिक बर्ष २०७६÷०७७ देखि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गर्ने निती तथा कार्यक्रम निकै राम्रो लागेको थियो । तर समयमा नै यसको कार्यबिधी निर्माण हुन नसक्दा यो कार्यक्रम कार्यान्वयन हुन सकेन । कोठाभित्रै बसेर निर्माण गर्नुपर्ने कार्यबिधी समेत पनि समयमा सम्पन्न हुन नसक्दा स्मार्ट छोरी कार्यक्रम अधुरै रहेपछि जिएम निराश बनेका छन् ।  

बिधायन समितिका संयोजक देबराज बिश्वकर्माले कार्यविधि बनाउन आबश्यक तयारी गर्न नसक्दा घोषणा गरिएको कार्यक्रमको कार्यबिधी तयार हुन नसकेको बताउँछन् । ‘पहिले तयारी गर्न सकिएन कोरोनाको प्रकोपपछि यसकै कोरोना ब्यबस्थापन र बिकास निर्माणलाई प्राथमिकता दिदा कार्यक्रम सुरु गर्न सकिएन’— संयोजक देवराजको भनाई छ । बिधायन समितिमा बिश्वकर्मासंगै वडाध्यक्ष पर्शुनारायण चौधरी, कार्यपालिका सदस्य चित्रा मल्ल, वडा सदस्यहरु सुरेश श्रेष्ठ र युवा करारा रहेको भए पनि यसलाई उपयुक्त दिशा दिन नसकेको उनीहरुको भनाई छ ।

बिधायन समितिमा रहेका सबै पदाधिकारीहरु वडास्तरका क्वारेन्टाइन निर्माण, भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको उद्धार, ब्यवस्थापन तथा गरिब एवं बिपन्न परिवारका लागि खाद्यान्न र अन्य राहातका कार्यक्रममा ब्यस्त हुनु परेपछि स्मार्ट छोरी कार्यक्रम सञ्चालनका लागि कार्यबिधी निर्माण गर्न नसकिएको संयोजक बिश्वकर्माको भनाई छ । 

तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपानेका अनुसार बार्षिक रुपमा ४३ सय बढी सन्तान जन्मीने गर्छन् । त्यसमा कम्तीमा दुई हजार छोरीको जन्म हुन्छ । स्मार्ट छोरी कार्यक्रम कार्यान्वयन नहँुदा कम्तीमा दुई हजार छोरी कार्यक्रमबाट बञ्चित भएका छन् । 

विधायन समितिबाट नीति तयार पार्नुपर्ने समयमा कोरोनाका कारण स्थानीय तह बन्दाबन्दी भएपछि कार्यविधि तयार हुन नसकेको र तुलसीपुर नगरपालिकाले आफुले निर्णय गरेको अघि सारेको कार्यक्रमलाई नै  समयमा नै सुरु गर्न नसकेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रसाद न्यौपानेले जानकारी दिए । यद्यपी संयोजक बिश्वकर्माले उक्त कार्यक्रमको कार्यबिधी भने अहिले तयार भएको बताएका छन् । ढिलै भए पनि  कार्यबिधी तयार भएको छ, अबको केही महिनामा स्मार्ट छोरी कार्यक्रम अघि बढ्छ कि भन्ने कुरामा आशा भने पलाएको छ — संयोजक बिश्वकमाको भनाई छ ।  

घटना नम्बर ३ 

घोराही उपमहानगर निबासी अशोक नेपाली घोराही तुलसीपुर सडक खण्डमा दुर्घटना हुँदा घाइते भए । हेमन्तापुरमा रहेको रेडियो नेपालको काम सकेर घर फर्किने क्रममा घोराही  उपमहानगरपालिका —१० सौडीकुलामा दुर्घटना हुदा नेपाली घाइतभएका थिए । 

चारलेण्डको चौडा गर्ने उद्देश्यका साथ काम सुरु गरिको सडक अपुरो कामका कारण नेपाली दुर्घटनामा परेका थिए । खनिएको सडक अपुरो छोडिएको र त्यसमा पनि दाङमा छाडा रहेका पशु चौपायाको अब्यवस्थापनका कारण मोटरसाइकल दुर्घटना हँुदा नराम्ररी दुर्घटनामा परेको र जसका कारण एक हप्ता घरमै बस्नु परेको र काममा जान नसकेको नेपालीले जानकारी दिए । 

लकडाउनका कारण निर्माण सामग्रीको समस्या ब्यहोर्दै पनि निर्माण कार्य गरिरहेको परियोजना कोरोनोको कारण काम रोक्नु परेको र समयमा बन्दाबन्दी भएपछि कामदारहरु श्रमिक घर  गएका कारण काममा समस्या भइ अपुरो रहेको हो । धेरै ब्यक्ति एकै स्थानमा रहेर काम गर्न समस्या हुने र सरकारले भीडभाडका कार्य नगर्न आदेश जारी गरेपछि  काममा संलग्न भएका सबै श्रमिक घर फर्किएका थिए । 

तथ्य इन्जिनिरिङ एण्ड एन्थ्रा प्रालिले निर्माणको जिम्मा लिएको उक्त सडक निर्माण कार्यले बन्दाबन्दी भएपछि समयमै काम सम्पन्न हुनेमा संका छ । एक करोड २१ लाख अमेरिकन डलरमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेको प्रालिले कामको गति लिन अझै केही समय लाग्ने जनाएको छ । 

जिल्लामा सञ्चालन भएका यस्ता गौरबका योजना बन्दाबन्दीको समयमा पनि सञ्चालन गर्ने भनिएता पनि काम गर्ने कामदारको अभाव भएकोले काम भने जतिको गतिमा गर्न नसकेको प्रालिका जनक डाँगीले जानकारी दिएका छन् । 

निकै ब्यस्त रहने तुलसीपुर—घोराही हँुदै लमहीसम्मको सडक साधुरो भएका कारण र सवारी साधनको चाप बढी भएका कारण ब्यवस्थित सडक निर्माण गर्नका लागि यो सडक चारलेनको निर्माण गर्न लागिएको छ । आगामी सन् २०२१ अगस्टसम्म काम सक्ने गरी सम्झौता गरेको कम्पनीले  कोरोनाका कारण बन्दाबन्दी भएपछि  सम्झौता अबधिमा काम सम्पन्न गरी सडक हस्तान्तरण समयमै गर्न नसकिने निर्माण कम्पनीका जनक डाँगीको भनाइ छ । 

कोरोना महामारीले गर्दा यी तीन वटा योजनामा मात्र होइन, दाङका अन्य बिकास निर्माणका योजनामा समेत असर पारेको छ । कोरोना सक्रमणको ब्यवस्थापनमा अधिकांस पालिका र सरकारी निकाय ब्यस्त भएका कारण र नसोचेको बन्दाबन्दीका कारण जिल्लाका बिकास निर्माणका कार्य रोकिनुले समग्रमा जिल्लाको विकास प्रतिको कार्य अबस्थालाई झल्काएको छ ।  

कोरोनाका कारण करिब चार महिनासम्म देश बन्दाबन्दी भएपछि स्थानीय तहमा बिकास निर्माणले गति लिन सकेन भने लक्षित बर्गका लागि ब्यबस्था गरिएका कार्यक्रम सञ्चालनका लागि आबश्यक पर्ने कानून, कार्यबिधी, ऐन निर्माणमा ढिलाई भयो जसका कारण निर्णय गरिएका योजना तथा कार्यक्रम कार्यान्वन समेत हुन सकेनन् । 

नागरिकलाई सुचनाको हकको अधिकार भएता पनि दाङका स्थानीय तहका वेभसाइटमा स्थानीय तहका गतिविधीका बारेमा सुचना अध्यावधिक गरेको पाइदैन । जिल्लामा सञ्चालन भएका आयोजना, त्यसको निर्माण र प्रगति बिबरण बारे सुचना पाउन नागरिकलाई समस्या छ । गत आर्थिक बर्ष २०७६÷०७७ का लागि बनेका निती तथा कार्यक्रम एवं बजेट र त्यसमा गरिएको ब्यबस्था अनुसार पालिकाले गरेका केही कार्यक्रमहरु समयमा नै गरेको भए पनि अहिलेसम्म कति कार्यक्रम सम्पन्न भए तथा कति योजना सम्पन्न भए, कति वजेट खर्च भयो, कुन वर्ग लाभान्वित भयो भन्ने बारेमा नागरिकहरु अनभिज्ञ छन् ।

स्थानीय तहमा कोरोना जोखिमका बीचमा गरिएका कार्यक्रम तथा बिकास निर्माणका बिषयमा स्थानीय पालिकाले नागरिकलाई जानकारी गराउने बिषयमा कुनै चासो राखेका छैनन् । कोभीड—१९ को जोखिमका बीचमा यसको  ब्यबस्थापन र जिल्लाका विकासका केहि काम मुस्किलले काम गरेको भएपनि त्यसको सार्बजनिकिकरण गर्न नसक्दा बार्षिक रुपमा सम्पन्न गरिएका कार्यक्रमका बारेमा स्थानीय नागरिकबाट जनप्रतिनिधीहरु आलोचना खेप्न बाध्यछन् । एकातिर  कोरोनाका कारण योजना मुताविक काम गर्न समस्या भयो भने अर्कोतिर गरेका कार्यक्रमका बारेमा  नागरिकलाई कसरी जानकारी गराउने, कार्यालय बन्द छ, भेला समारोह गर्न सकिन्न— शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने । 

स्थानीयलाई भेला गराएर आयब्यय तथा प्रगतिका बिषयमा जानकारी गराउन पनि  अहिलेको अबस्थामा समस्या भएको छ । यो काम गर्न नसक्दा स्थानीयले हामीलाई सबै योजना खाए भन्ने आरोप नि लाग्ने भयो— अध्यक्ष डाँगीले भने । 

साइटमा अपडेट छैन 

सार्बजनिक समारोहका बीचमा  रुपमाकार्यक्रम गरेर स्थानीय विकासको प्रगतिको जानकारी गराउन नसके पनि  दाङका दश स्थानीय पालिकाले आफ्नो वेबसाइटमा बार्षिक रुपमा गरेका कार्यक्रमका बारेमा केही उल्लेख गरेका छैनन् । आर्थिक बर्ष बितेको करिब तीनमहिनासम्मपनि कुनै पालिकाले बिकास निर्माणका बिषयमा पालिकाको वेभसाइटमा केही  विवरण उल्लेख गरेका छैनन् । जवकि सुचनाको हक २०६४का अनुसार सार्वजनिक निकायले हरेक त्रैमाशिक रुपमा आफ्नो कार्यालयले गरेका २० प्रकारका सुचनाहरु स्वतः सार्वजनिक गर्नुपर्ने ब्यवस्था गरेको छ । नेपालको संविधान २०७२ ले समेत सुचनाको हकलाई मौलिक हकको रुपमा  सुनिश्चित  गरेको छ । 

ठूलो योजनाका कामलाई समस्या प¥यो - ब्यबसायी 

दाङ निर्माण ब्यबसायी महासंघका महासचिब शोकबहादुर रोका मगरले ठेक्का मार्फत् सञ्चालन भएका योजनाका काममा कोरोनाका कारण समस्या परेको बताएका छन् । जिल्लाका साना योजना उपभोक्ता समिति मार्फत् सञ्चालन हुनेतर, ठूला योजनाहरु ठेक्का मार्फत् काम हुने भएपछि समस्या भएको महासचिब रोकाको भनाई छ । साना काम उपभोक्ताले स्थानीय कामदार मार्फत् काम गराएका कारण भएको र ठूला योजनालाई कामदार, कच्चा पदार्थ पनि धेरै लाग्ने भएका  काममा कारण समस्या भएको हो ।

कहरमा पनि २ स्थानीय तह अगाडी 

बन्दाबन्दीको अबस्थामा बिकास निर्माणको कार्यलाई निकै समस्याका रुपमा ब्यहोरेका स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाले भने विकासका काममाराम्रो प्रगति गरेको पाइएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा तुलसीपुर उपमहानगरपालिकाले ७३० योजनामध्ये ६९१ वटा योजना सम्पन्न गरेको जनाएको छ । 

बिकास निर्माणको कार्यलाई मंसिर महिनादेखि सुरु गरेका कारण यति धेरै काम भएको योजना शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिएका छन् । यस्तै दाङको बबई गाउँपालिकाले पनि गत आर्थिक बर्ष २०७६÷०७७ मा तयार पारेका २६० वटा योजनामध्ये २२८ वटा योजना सम्पन्न भएको जनाएको छ । बबईले पनि निर्माणको काम मंसिरदेखि सुरु गरेका कारण यति धेरै योजना सम्पन्न भएको जनाएको छ । 



SHARE THIS