ओली, प्रचण्डबीच डेढ घण्टादेखि छलफल जारी, विषय मन्त्रिपरिषद् पुनर्गठन


काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

“उहाँहरूबीच सवा ९ बजेदेखि कुराकानी भइरहेको छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने उनी निकटस्थहरू बताउँछन् ।

भदौ २६ गते सकिएको स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे पार्टीभित्र सैद्धान्तिक छलफल भएको थियो । त्यसैको वरिपरि रहेका प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् । आजै प्रधानमन्त्री ओलीले १२ बजे मन्‍त्रिपरिषद् बैठक बोलाएका छन् ।


SHARE THIS