आज देखि सोह्र श्राद्ध शुरु,पितृऋणबाट मुक्ति पाउने विश्वास

दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध आजदेखी सुरु  | suryakhabar.com
दाङ,भदौ १७ ।आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथिदेखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथिमा चोखोनितो गरी महालय श्राद्ध गरी तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।
बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ ।

भदौ १८ गते बिहीबार द्धितीया तिथि श्राद्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग ९पात्रो० मा उल्लेख छ । चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नुपर्नेछ ।

पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।

नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मङ्गलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध भदौ ३१ गते बुधबार पनि १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

SHARE THIS