लमहीमा डायलाइसिस सेन्टर खुलेपछि पालो कुर्नु पर्ने र टाढा जानुपर्ने बाध्यताको अन्त्य


No description available.

सन्तोषकुमार गुप्ता/ देउखुरी भदौ २४ ।दाङमा अब मृगौलाका बिरामीहरू समयमै डायलाईसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । देउखुरीको लमहीमा पहिलो पटक जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आए संगै समयमै डायलाइसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने समस्याको अन्त्य भएको हो ।

रोटरी क्लब अफ लमहीले पहिलो पटक देउखुरीको लमही स्थित रातो डाँडामा अत्याधुनिक सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएपछि दाङ संगै साविक राप्ती अञ्चलका नागरिकहरू समयमा डायलाइसिस गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लाको घोराही, तुलसीपुर लगायत विभिन्न ठाउँमा डायलाइसिस सेन्टर भएता पनि मृगौला पिडितहरू डायलाइसिसका लागि पालो कुर्नु पर्ने कि त टाढा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लाको कतिपय डायलाइसिस सेन्टरमा त झन् एक जना मृगौला बिरामीको मृत्यु भएपछि मात्र पालो नआउने भन्दै फर्काउने गरेको समेत मृगौला पिडितहरूले बताएका छन् ।

रोटरी इन्टरनेशनलको करिब ५ करोडको लगानीमा स्थापना भएको लमही सामुदायिक डायलाइसिस सेन्टरमा दैनिक एक सिफ्टमा १० जना र दिनमा तीन सिफ्ट सञ्चालन गर्दा ३० जनाको डायलाइसिस गर्न सक्ने क्षमता रहेको क्लबका अध्यक्ष रबिलाल आचार्यले जानकारी दिए । लमही डायलाइसिस सेन्टरले नियमित ९० जना सम्मलाई सेवा दिन सक्ने क्षमता रहेको भएता पनि अहिले करिब ५० जनाले मात्र सेवा लिईरहेको क्लबका अध्यक्ष आचार्यले बताए । लमही डायलाइसिस सेन्टर सञ्चालनमा आएपछि अब कुनैपनि बिरामी डायलाइसिस गराउन पालो कुर्नु पर्ने र टाढा जानू पर्ने समस्याको अन्त्य भएको छ, अध्यक्ष आचार्यले भने । नेपालको कुनैपनि जिल्ला तथा कुनाबाट सेवा लिन आएमा सहजै सेवा प्रदान समेत गरिने आचार्यको भनाई छ । लमही डायलाइसिस सेन्टरमा जिल्लाको घोराही, तुलसीपुर, नारायणपुर, देउखुरी क्षेत्र, साविकको राप्ती अञ्चलको प्यूठान, रूकुम, रोल्पा, सल्यान तथा अर्घाखाँची, कपिलबस्तु, बाँके, धनगढी र सुर्खेतबाट समेत मृगौला पिडितहरूले सेवा लिइरहेको अध्यक्ष आचार्यले बताए । सेन्टरले नेपाल सरकारको मापदण्डमा रहेर सबै प्रकारको सेवा सुबिधा समेत दिंदै आएको सेन्टरले जनाएको छ । लमही डायलाइसिस सेन्टर पश्चिम नेपालको बुटवलपछि साविक मध्य तथा सुदुर पश्चिमकै ठुलो तथा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेन्टर रहेको क्लबका अध्यक्ष आचार्यको दाबी छ । सेन्टरमा अत्याधुनिक ल्याप टेस्टको  व्यवस्था रहेको हुँदा स्वस्थ व्यक्तिले समेत आफ्नो मृगौला परिक्षणका लागि रगत तथा पिसाब चेकजाँच गर्न सक्ने सेन्टरले जनाएको छ । सेन्टरमा मेडिकल अफिसियर डाक्टर आषिस रेग्मीको नेतृत्वमा  ११ जना स्वास्थ्यकर्मीहरूबाट समेत सेवा प्रदान गरिरहेको क्लबले जनाएको छ ।

एक जना मृगौला बिरामीको एक पटक डायलाइसिस गर्न ४ घण्टा समय लाग्ने र नियमित हप्तामा दुई देखि तीन पटक सम्म डायलाइसिस गरिरहनु पर्ने सेन्टरका अफिसियर डाक्टर आषिस रेग्मीले जानकारी दिए । यो रोग खास गरी सुगर, प्रेसरका बिरामीहरूमा बढी मात्र देखिने भएको हुँदा त्यस्ता बिरामीले आर्को मृगौला प्रत्यारोपण गर्न नसक्नेहरूको हकमा यसरी नै मेसिन प्रयोग गरेर नियमित डायलाइसिस गर्नु पर्ने डाक्टर रेग्मीको भनाई छ । यसरी नियमित डायलइसिस गर्ने बिरामीमा अन्य कुनै समस्या नदेखिएको खण्डमा १५र२० बर्ष भन्दा बढी समय सम्म मजाले बाँच्ने सम्भावना रहेको डाक्टर रेग्मीको भनाई छ ।

यता लमही सामुदायिक डायलाइसिस सेन्टरमा उपचार गराउन आएका बिरामीहरूले समेत सेन्टरले प्रदान गर्दै आएको सेवा सुविधामा सन्तुष्ट रहेको बताएका छन् । सेन्टरले एकदमै उत्कृष्ट सेवा दिएको छ हामी यहाँको सेवाबाट एकदमै खुसी छौं डायलाइसिस गराइरहेका बिरामीहरूले भने ।

सरकारले पहिलो चरणमा गरेको लकडाउनको समयमा लमही डायलाइसिस सेन्टरले टाढाबाट आउने बिरामीहरूलाई मध्यनजर गर्दै करिब तीन महिना सम्म १३ जना बिरामी र १३ जना बिरामीको १र१ जना करूवाहरू गरी २६ जनालाई विभिन्न संघसंस्था मनकारी व्यक्तिहरूको सहयोगमा खाना र बस्ने व्यवस्था समेत गरेको थियो । भने तीन महिना सम्म बस्नका लागि देउखुरी उद्योग वाणिज्य संघ लमहीले निशुल्क रूपमा हलको व्यवस्था गरेको थियो । साथै सेन्टरले निकट भबिष्यमा मुटुको उपचार समेत यही सेन्टरबाटै सेवा प्रदान गर्ने उदेश्यले जिल्लाका स्थानीय सरकार संग समन्वय तथा छलफल भईरहेको क्लबका अध्यक्ष आचार्यले बताए । 

रोटरी क्लब अफ सेन्ट्रल बुटवल तथा रोटरी क्लब अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक संस्थाद्वारा  स्थापना गरिएको लमही सामुदायिक डायलाइसिस सेन्टरको २०७६ माघ २९ गते प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए ।


SHARE THIS