दाङमा कोरोना कहरसँगै स्वरोजगार बन्ने बढ्दै

 

तिर्थराज ज्ञवाली 
दाङ, भदौ २३ । नेपालमा कोरोना संक्रमित भेटिएको करिब ५ महिना पुगेको छ । यसबीचमा लामो लकडाउन भयो । लाखौँको रोजगारी गुमेको छ । विदेशबाट समेत घर फर्किएको ठूलो युवाको समुह छ । यस सयमा कतिपयलाई अब के गर्ने भन्ने चिन्ता भइरहेको समयमा दाङको राप्ती गाउँपालिकामा धेरैले घरमै नयाँ कामको सुरुवात गरेका छन् ।

आफ्नै जग्गाको सदुपयोग गर्दै होस वा भाडामा लिएर तरकारी खेती, पशु पंक्षि, मंत्स्य, माहुरी पालन, फलफुल खेती तथा ब्यापार ब्यवसायमा लागेका छन् । राप्ती गाउँपालिका स्थित छोट्की सिसहनियाका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन गर्दैहुनुहुन्छ । अनील चौधरीले कतारबाट आएर घर निर्माण सम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य थाल्नु भएको छ । सुर्य नारायण चौधरीले बाख्रा पालन सुरु गर्नु भएको छ । तुला गिरीले मसुरीयामा हार्डबेयर पसल सुरु गर्नु भएको छ ।

यी त उदाहरण मात्रै हुन विगतमा ब्यापार र उद्योग सञ्चालन गर्दै आएकाहरुले समेत नयाँ काम सोचिरहेको अवस्थामा पनि विदेशबाट घर फर्किएकाहरुले तरकारी खेतीको सुरुवात, पशु पंक्षि मंत्स्य, माहुरी पालन पालन तथा ब्यापारमा अग्रहसर भएका छन् ।
विगतमा भूमिगत राजनीति गरि शान्ति स्थापना पश्चात ओमन जानु भएका राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाका तुला गिरीले मसुरीया बागढड्डीमा हार्डवेयर्स पसल सुरु गर्नु भएको छ ।

विदेशमा ११ बर्ष वैदेशिक रोजगारमा रहनुभएका गिरी कोरना संकटका कारण अब स्वदेशमै रहेर काम गर्नका लागि घर परिवारको सहयोग र समूहबाट रकमको जोहो गरी पसल सुरु गर्नु भएको छ । विदेशमा बस्दा समाजको सेवा गर्ने अवसर नपाउनुभएका गिरीले अब आफ्नो ब्यवसाय मार्फत निर्माण सम्बन्धी सम्पुर्ण सामानहरु सुपथ मुल्यमा दिई स्थानीयको सेवामा लाग्ने बताउनुहुन्छ ।

राप्ती गाउँपालिकाले कोभिड लक्षित कार्यक्रम ल्यायो
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ । नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिडबाट प्रभावित बैदेशीक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रा पालन, कुखुरा पालन तथा फलफुल खेति गरेका प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाति गडरीयाले जानकारी दिनुभयो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पहलमा घर आएका परदेशीलाई राजगारीको अनुभूति गराउने उदेश्यका साथ १ सय ३० जनालाई अनुदान उपलब्ध गराएको उहाँको भनाई छ । प्रति कृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय बृद्धिमा गर्नमा लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिनुभयो ।

SHARE THIS