बोयर जातका बाख्रापालनमा किसानको आकर्षण



दाङ,असोज ४ । बोयर जात बाख्रापालनमा दाङका किसानहरुको आकर्षण बढ्दै गएको छ। स्थानीय जाताका बाख्र भन्दा बोयर जातको धेरै तौलको हुने र त्यसबाट धेरै फाइदा हुने भएकाले पनि त्यसतर्फ किसानको आकर्षण बढ्दै गएको हो। तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीमा मानबहादुर केसी बाख्रापालन व्प्यवसायमा लागेको करिब चार वर्ष भयो। १२ वर्षसम्म तीनवटा खाडी मुलकमा बसेर फर्किएका केसीले १५ वटा स्थानीय बाख्रा र साउथ अफ्रिकन बोयर जातको तीन लाखको एउटा बोका किनेर बाख्रापालन शुरु गरेका हुन्। ‘१२ वर्ष विदेशमा बिताएँ।

 त्यसपछि गाडी किनेर चलाएँ। त्यसमा पनि सोचेजस्तो नभएपछि कृषि पेशातिर लागें,’ उनले भने, ‘नयाँ तरिकाले गर्दा राम्रौ हँुदै गएको छ।’ अहिले उनको फार्ममा स्थानीय माउ बाख्रा र बोयर जातका ७० वटा साउथ अफ्रिकन, अष्ट्रलियन गरी तीन वटा बोयर जातका बोका र अन्य पाठा–पाठी गरी करिब १४० वटा रहेको उनले बताए। हालसम्म करिब डेढ करोड रुपैयाँ लगानी भएको र त्यसमध्ये करिब ६० लाख बैंकबाट ऋण लिएको उनले बताए। 

पछिल्लो समय गाउँघरमा स्थानीयभन्दा बोयर जातका बाख्राको माग धेरै रहेको उनले बताए। ‘हामीले स्थानीय जातबाट क्रस गराएका ५० देखि ७५ प्रतिशत बोयर पाठा–पाठीहरु बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘तर अहिले सत प्रतिशत नै बोयरको माग छ। पाठा–पाठी पुर्याउने धौधौ परेको छ। मंसिरदेखि चैत–बैशाखसम्म बेच्ने सिजन हो। तर, मानिसहरुले पहिले नै एडभान्स छोडर जान्छन्।’  अहिले पाठा–पाठी बोयर बोकाको गुण कति छ, त्यसै अनुसार मूल्य निर्धारण हुने उनको भनाइ छ। कम्तीमा ६०० देखि बढीमा तीन हजार रुपैयाँ किलोसम्म बेच्ने गरेको उनले बताए। शुरुका वर्षमा खासै आम्दानी नभए पनि दोस्रो वर्षमा ७÷८ लाख भएको र तेस्रो वर्षमा करिब १५ लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ। 

लकडाउनको तीन महिनाको अवधिमा मात्र तीन लाख रुपैयाँ बराबरको पाठा–पाठी बिक्री भएको केसी बताउँछन्। केसीले बाख्रा मात्र नभइ उन्नत जातका गाई तथा कुखुरा फर्म समेत सञ्चालन गर्दै आएका छन्। ‘हामी तीन भाइ  छाँै। मैले बाख्रा, अर्को भाइले गाई र अर्का भाइले कुखुरा पालन ब्यवसायमा लागेका छौँ,’ उनले भने। गाईपालन ब्यवसायबाट पनि मासिक करिब ढेड लाख रुपैयाँको दुध बिक्री गर्दै आएको उनले बताए। मासिक सबै खर्च कटाएर करिब ७५ हजार रुपैयाँ आम्दानी हुने उनको भनाइ छ।  

सात वटा गाईबाट प्रिया गाई फार्म दर्ता गरी शुरु गरेकोमा अहिले १८ वटा विभिन्न जातका गाईहरु रहेको उनले बताए। ती गाईबाट  दैनिक ७०÷८० लिटर दुध उत्पादन हुने गरेको छ।  ‘हामीले मेहेनत गर्दछौँ। तर फाइदा अरुले नै लिन्छन्। हामीले प्रतिलिटर दुधमा लागत कटाएर १० देखि १५ रुपैयाँ आउँछ,’ उनले भने, ‘तर डेरीले एक रुपैयाँको प्लाष्टिकको ब्याकमा पोका पारेर ८० रुपैयाँ लिटरमा बेच्छन्। हामीले ६० रुपैयाँ लिटरमा बेच्न बाध्य भएका छौँ।’ पछिल्लो समय धेरै युवाहरुको आकर्षण कृषि क्षेत्र तर्फ बढ्दै गए पनि लगानी नहुँदा समस्या हुने गरेको उनले बताए। ‘सरकारले दिने अनुदान हामीजस्ता सोझाले पाउँदैनौँ,’ उनले भने, ‘जसको पहुँच छ। त्यसैले पाउने हो।

 बैंक तथा वित्तीय संस्थाहरु पनि धितो विना ऋण दिँदैन्। त्यसैले राज्यले यसतर्फ ध्यान दिनु पर्दछ।’ सोही ठाउँका स्थानिय होतालाल कडँेलले पछिल्लो समय स्वदेश मै युवाहरुले केही गर्न खोजे पनि राज्यले ध्यान नदिएको बताउाछन्। स्थानीय सरकारले युवाहरुलाई स्वरोजगार बनाउन केही प्रयास गरे थोरै अनुदान दिँदा त्यसले काम गर्ने वातावरण नहुने समेत उनले बताए।  तुलसीपुर–१७ की पुष्पा विष्ट ६ वर्षसम्म किराना पसल खोलेर बसिन्। ६ वर्षसम्म किराना व्यवसायबाट सोचे जस्तो नभएपछि उनले व्यवसाय नै परिवर्तन गर्दै बाख्रापालन व्यवसायमा शुरु गरिन्। 

 विष्टले २ वर्षसम्म लोकल जातका बाख्रा पालन गरिन्। तर, ती बाख्राबाट खासै आम्दानी नहुने भएपछि एक वर्षदेखि २३ वटा बोयर जातका बाख्रापालन गर्दै आएकी छिन्। उनले ६ महिना पुगेको एउटा बोयर बोका मूल्य ३० हजार र बाख्राको २० हजारमा बिक्री गरेको बताइन्।  कृषि ज्ञान केन्द्रको भकारो सुधार कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ अनुदान पाएको उनले बताइन्। त्यस्तै प्रदेश ५ सरकारले आयोजना गरेको प्रदेश एक्स्पो कार्यक्रममा समेत बोयर बोका प्रदर्शनमा आफु पुरस्कृत भएको उनले बताइन्। 

 तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई विउ विजनदेखि कृषि औजार सिंचाईमा अनुदान दिँदै उपमहानगरपालिकाकी उपमेयर माया शर्माले बताउँछिन्। उपमहानगरले कोभिड विशेष कृषि कार्यक्रममा २१४ जना युवाहरुलाई विभिन्न कृषि क्षेत्रको लागि ७५ प्रतिशतमा २० हजारका दरले अनुदान दिएको उनले बताइन्। प्लाष्टिक टनेल वितरणमा एक सय जनालाई ५० प्रतिशत छुट दिएर अनुदान दिएको समेत उपमेयर शर्माले बताइन्।



SHARE THIS