ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता योजना


काठमाडौं, असोज १२ । ग्लोबल आईएमई बैंकले मेरो उनीलाई मुद्दती खाता योजना ल्याएको छ । महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले यो खाता योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

‘मेरी उनीलाई’ मुद्दती योजनाले महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो योजना ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटकपटक रकम थप गर्न पनि सकिने बैंकले जनाएको छ ।  

बैंकले यो खातासँगै निस्शुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख रुपैयाँभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।  

यस योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउने र निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने पनि बैंकले जनाएको छ ।

 


SHARE THIS