कांग्रेसमा ७२ जिल्लाको समायोजन सम्पन्न, पाँच जिल्ला बाँकी



काठमाडौं,असोज ७ । नेपाली काग्रेसले थप छ जिल्लामा पार्टीका आन्तरिक संरचना समायोजन सम्पन्न गरेको छ । कांग्रेसले बाँकी रहेका ११ जिल्ला मध्ये थप छ जिल्लामा पार्टीका आन्तरिक संरचनाहरु समायोजन गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले समायोजन हुन बाँकी रहेका प्रदेश नम्बर २ का आठ जिल्ला र मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमध्ये छ जिल्लामा समायोजनको काम सम्पन्न भएको जानकारी दिए ।

उनकाअनुसार अब सिरहा, सप्तरी, धनुषा, बारा र सिन्धुपाल्चोकमा आन्तरिक संरचना समायोजनको काम बाँकी छ । निर्वाचन समिति संयोजक अधिकारीले बाँकी रहेका पाँच जिल्लामध्ये धनुषाको पनि समायोजन सम्पन्न भएर समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

“७२ जिल्लाको समायोजन सकिसकेका छौं । अब पाँच जिल्लाको बाँकी छ,” उनले बाह्रखरीसँग भने, “सिरहा, सप्तरी, धनुषा, बारा, सिन्धुपाल्चोक बाँकी हो । त्यसमा धनुषाको आइसकेको छ, समितिले अध्ययन गर्दैछ ।”

गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो । नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । कार्यतालिकाअनुसार कार्यसम्पादन नहुनुलाई कांग्रेसले कोभिड–१९ को महामारीलाई देखाउँदै आएको छ ।

कार्यतालिकाअनुसार पार्टीका आन्तरिक संरचनाहरु समायोजन हुन नसक्दा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पनि रोकिएको छ । जसले महाधिवेशन कार्यतालिकानै प्रभावित बनेको छ ।   केन्द्रीय कार्यसमिति बैठकले विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित समयावधिभित्र समायोजन र क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्न नसकिएका कारण कांग्रेसका नेताहरु पछि परिमार्जन गरिएको महाधिवेशन कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने बताउँदै आएका छन् । परिमार्जित कार्यतालिकालाई पुनः सशोधन गर्नुपर्ने धारणा राख्नेमा संस्थापन पक्षीयदेखि सिटौला समूहका नेताहरु रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा रहेका नेताहरु पनि अहिलेकै कार्यतालिकाअनुसार १४ औं महाधिवेशन सम्भव नभएको धारणाहरु राख्दै आएका छन् ।

तर, वरिष्ठ नेता पौडेल भने बाँकी रहेका पाँच महिनाको अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्न सकिने दाबी गरिरहेका छन् । विधानअनुसार फागुनमा पार्टीको अधिवेशन गर्न नसके वर्तमान कार्यसमिति कायम रहन सक्ने आधारसमेत समाप्त हुने उनको भनाइ छ । आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


SHARE THIS