बझाङकी सम्झनाका लागि न्याय माग्दै सडकमा बहस


 बझाङ,असोज १२ । बझाङकी सम्झनाका लागि न्याय माग्दै नेपाली काङ्ग्रेसको महिला बिभागद्वारा आइतबार काठमाडौंमा सडक बहस गरेको छ । बहस कार्यक्रम मार्फत नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली काङ्ग्रेसको केन्द्रिय महिला विभागले सम्झना विकका बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गरेको छ । 

आइतबार काठमाडौंको माइतीघरमा बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सडक बहस कार्यक्रमको आयोजना गरेको थियोे ।

पछिल्लो समय नेपाली समाजमा महिला हिंसाका घटनाहरु एकपछि अर्को गर्दै बढिरहेको भन्दै महिला संघले दुःख समेत व्यक्त गरेको छ ।

नेपाली काङ्ग्रेसको समन्वय समितिकी सचिव बिनिता अधिकारीले कार्यक्रममा भनिन्, “नेपाली लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु एकदमै दुःखद कुरा हो । सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ ।” सरकारले महिला हिंसाका घटना बारेमा संबेदनसिल नहुँदा आपराधिक घटना बढ्दै गएको उनको भनाइ छ । 

नेकपाकी सासंद एवं युवा नेत्री रामकुमारी झाक्रीले कार्यक्रममा भनिन्, “यो कार्यक्रममा सहभागी भएको देख्दा अचम्मित नमान्नु होला, यो बिषय साझा भएक कारण म सहभागी भएको हुँ ।”  बझाङको घटनाका दोषीले सजाय पाउनुपर्ने उनको माग छ । 

बझाङकी सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणका घटना र दलित समुदायका महिला माथि विभिन्न प्रकारका प्रताडन भइरहेको थप प्रष्ट भएको भन्दै कार्यक्रममा यस्ता आपराधिक घटना रोक्न सरकारलाई विशेष र कडा कानून बनाउन सहभागीले आग्रह गरेका छन् । 

गत बुधबार बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । प्रहरी अनुसन्धान र अस्पतालको रिपोर्टले उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । 




 

 


SHARE THIS