
काठमाडौं, भदौ २० । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताउनुभएको हो।
‘अहिलेसम्म परीक्षणमा रहेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी हुने देखिएको छैन, उहाँले भन्नुभयो, ‘यसकारण अझै अनुसन्धानमा जोड दिन जरुरी छ।’
यसैबीच कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ६५ हजार १५४ को मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।