वडाध्यक्षलाई कोरोना निको भएपछि निकालियो मोटरसाइकल र्‍याली, गाउँलेसँग झडप

वडाध्यक्षलाई कोरोना निको भएपछि निकालियो... :: सेतोपाटी संवाददाता :: Setopati

काठमाडौं, भदौ १७ । कोरोना निको भएर वडाध्यक्ष घर फर्कँदा मोटरसाइकल र्‍याली गरेपछि रौतहटमा झडप भएको छ।

गुजरा नगरपालिका ६ का अध्यक्ष सकिल अन्सारीसहित करिब २० वटा मोटरसाइकलमा सवार युवाहरू र  सोही वडाका गाउँलेबीच मंगलबार राति झडप भएको हो।

निषेधाज्ञा जारी रहेका बेला होहल्ला गर्दै मोटरसाइकल र्‍याली गरेको भन्दै स्थानीयले विरोध गरेका थिए।

वडाध्यक्ष अन्सारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो ।

मंगलबार पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि उनी घर फर्किंदा युवाहरूले मोटरसाइकल र्‍याली निकालेका हुन्।

२० मोटरसाइकलमा करिब ४० जना युवाका साथमा वडाध्यक्ष घर फर्कंदै गर्दा स्थानीय बासिन्दाले खतवैया गाउँमा ढुंगामुढा गरेपछि दुई समूहबीच झडप भएको थियो।

घटनामा दुबै समूहका केही घाइते भएको जानकारी आएको चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

घाइतेको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।


 ‘ढुंगा हानाहान गर्दा दुबैतर्फका दुईरतीन जना घाइते भएको भन्ने छ,’ उनले भने, ‘घाइतेको अवस्था सामान्य छ।’

घटना कसरी भयो भन्नेबारे बुझ्न प्रहरीले दुबैतर्फका मानिसलाई  प्रहरी कार्यालयमा बोलाएको शाहीले बताए।

‘घटनाबारे छलफल गर्न आज दुबै पक्षका मानिस बोलाएका छौं,’ उनले भने, ‘वडाध्यक्ष र अर्को पक्षका बीचमा ढुंगामुढा भएको बुझिएको छ।’

गुजरा नगरपालिकाका मेयर सन्तलालप्रसाद चौधरीले वडाध्यक्ष कोरोनाबाट निको भएर घर फर्किँदै गर्दा झडप भएको जानकारी आफूले पाएको बताए।

‘वडाध्यक्ष घर फर्किँदै गर्दा दुई समूहबीच गज्याङमज्याङ भएछ,’ उनले सेतोपाटीसँग भने, ‘जताबाट गल्ती भए पनि छलफल गरौं। निकास निकालौं भनेको छु।’

SHARE THIS