कोरोनाविरुद्धको खोप आएपनि मृतकको संख्या २० लाख पुग्‍ने प्रबल सम्भावना डब्लूएचओ

 


जेनेभा, असोज १० । खोप आइसकेपछि पनि कोरोना भाइरसका कारण विश्वव्यापी मृत्यु हुनेको सङ्ख्या २० लाख पुग्ने प्रबल सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । खोप निर्माण भएपनि त्यसलाई सर्वत्र रुपमा उपलब्ध गराउन र यसको व्यापक प्रयोग हुन समय लाग्‍न सक्ने हुँदा मृतकको तथ्याङ्क सोचेभन्दा अझ बढी हुन सक्ने डब्लूएचओका आपत्कालीन प्रमुख डाक्टर माइक रायनले बताएका हुन् । 

अहिलेसम्म डाटामा अमेरिका, भारत र ब्राजिलमा संक्रमित सङ्ख्या सबैभन्दा बढी रहेको रेकर्ड छ । यी तीन देशमा मात्र कोभिडका १ करोड ५० लाख बढी बिरामी रहेका छन् । तर केही समय यता युरोपमा पनि पुनः देशव्यापी लकडाउन जारी गर्नुपर्ने अवस्था आउने चेतावनी दिइएको छ । यस सम्बन्धी डाक्टर रायनले भनेका छन्, “समस्त रुपमा त्यो ठूलो क्षेत्रलाई हेर्दा बढ्दो संक्रमण दर चिन्ताजनक देखिन्छ । ” 

यस्तोमा उनले युरोपेली राष्ट्रहरुलाई लकडाउन आवश्यक नपर्नेगरि आफूहरुले पर्याप्त कदम उठाइरहेको सम्बन्धी आफैँलाई प्रश्न गर्न सुझाव दिएका हुन् । परीक्षण, ट्रेसिङका कामहरु, क्वारेन्टिन व्यवस्थापन अनि सामाजिक दुरी राम्ररी कार्यन्वयन भएको छछैन भन्ने आफैले मूल्यांकन गर्न उनले आग्रह गरेका छन् । 

डब्लूएचओको हेडक्वाटर, जेनेभास्थिति सञ्‍चारकर्मीहरुसँग बोल्दै रायनले भनेका हुन्, “लकडाउन भनेको सबैको अन्तिम विकल्प हुनुपर्छ । तर अहिले, सेप्टेम्बरमा आएर फेरि हामी अन्तिम विकल्प अपनाउनुपर्ने स्थितिमा पुग्नु भनेको साँच्चै निराशाजनक खबर हुन्छ । ” अझैपनि मुलुकहरु महामारी नियन्त्रणका कदमहरु गम्भीरतापूर्वक अपनाए आगामी दिनहरुमा ठूलो क्षतिबाट जोगिन सक्ने उनले बताए । तर त्यसो नगर्ने हो भने, खोप सर्वत्र उपलब्ध हुनु अगाडि २० लाख मृत्युको प्रक्षेपण सम्भव रहेको उनले चेतावनी दिएका हुन् । 

उपचार विधिमा सुधार आउनुले पनि मृत्युको दर केही समय यता कम हुँदै गएको तर मृत्यु दरलाई २० लाख पार गर्न नदिन खोप र उपचार मात्र पर्याप्त नहुने उनले बताए । उनले थप भनेका छन्, “हामी आफैँ यसबारे विचार गर्न सक्छौं, के हामीले त्यो सङ्ख्यामा मानव क्षति रोक्न तयारी गरेका छौँ । हामीले यो विषय गम्भीर भएर सक्दो कदम नउठाए, त्यो तथ्यांक कल्पना मात्र नगरेर, दुःखद् रुपमा अपनाउनुपर्ने दिन आउने प्रबल सम्भावना छ । ”

डब्लूएचओको बारम्बार आग्रहपछि विभिन्न देशहरुले सामाजिक दुरी लगायत केही नियमहरुमा कडाइ गर्न सुरु गरिसकेका छन् । जस्तै स्पेनमा सरकारले राजधानी मड्रिड वरपरका क्षेत्रमा आंशिक लकडाउन जारी गरेको छ जसले त्यहाँका १० लाख जनजीवन प्रभावित गरेको छ । यता फ्रान्सको दक्षिणतर्फ रहेको मारसेली शहरमा भने रेस्टुरेन्ट र बारका स्टाफहरुले शनिबार काम बन्द गर्न लगाइएकामा विरोध जनाइरहेका छन् । बेलायतमा पनि शुक्रबारदेखि केही क्षेत्रमा कडाइ गरिने घोषणा भएको छ । दैनिक संक्रमणको दर बढ्दै गएपछि त्यहाँ यस्तो कदम उठाइएको हो । 

यसको विपरित अमेरिकाका केही स्टेटमा चाहिँ देशव्यापी संक्रमण दर बढिरहँदा समेत व्यवसायहरु खुलाउन दिइएको छ । यसबारे अमेरिकाका संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले संक्रमण दर पर्याप्त रुपमा कम नभएकाले अझैपनि अमेरिकामा पहिलो लहर अन्त्य भएको भन्न नसकिने बताएका हुन् । कोरोनाको दोस्रो लहर भन्दा पनि आफूहरु जाडोयामको चुनौतिका लागि तयार रहेको सुनिश्चित गर्न उनले जोड दिएका हुन् । 

पहिलोपटक चीनमा देखा परेदेखि कोभिड–१९ संक्रमणबाट विश्वभर झन्डै १० लाखको मृत्यु भइसकेको छ । र अझैपनि संक्रमण दर लगातार बढ्ने क्रम जारी छ जसबाट ३ करोड २० लाख बढी संक्रमित भइसकेका छन् । भाइरसलाई नियन्त्रणमा लिइसकेको घोषणा गरेका मुलुकहरु पनि पछिल्लो समय दोस्रो लहरको सामना गरिरहेका छन् । विशेषगरी युरोपका उत्तरी भेगतर्फ जाडोयाम नजिकिएसँगै बिरामीको दर फेरि बढ्न थालेको बताइएको छ । (बीबीसी)


SHARE THIS