दाङमा निशुल्क दर्ता भएका अधिकांश उद्योग मध्ये २० वटा कृषि उद्योग



दाङ,असोज प्रदेश नम्बर ५ सरकारले उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् । जिल्लामा भदौ अन्तिमसम्म २४ वटा विभिन्न प्रकृतिका उद्योग निशुल्क दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय घोराहीका कम्प्यूटर अपरेटर अनिल चौधरीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले उद्योग प्रवद्र्धनका लागि दर्तामा शुल्क नलिने उद्योग दर्ता क्रम बढेको छ । दाङमा निशुल्क दर्ता भएका अधिकांश उद्योग मध्ये २० वटा कृषि उद्योग रहेका छन् । कोरोना कहरका बीचमा स्वदेशमै स्वरोजगारी बन्न र रोजगारी प्रदान गर्न जिल्लामा साना उद्योगमा लगानी क्रम बढेको हो ।

प्रदेश नम्बर ५ को सरकारले भदौ ११ गते प्रदेशका १२ वटै जिल्लामा वाणिज्य बाहेक अन्य उद्योग दर्तामा छुट दिने निर्णय गरेको थियो । प्रदेश सरकारको उद्योग दर्तामा ल्याएको छुटको योजना भदौ १५ मा परिपत्र आएपछि जिल्लामा निःशुल्क रूपमा दर्ता हुने गरेको प्रमुख उमबहादुर वलीले बताउनुभयो । जिल्लामा अहिले पाँच लाखदेखि पाँच करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न सकिने उहाँको भनाई छ । अहिले उद्योगमा निवेदन शुल्क एक सय बाहेक अरू शुल्क लाग्दैन् ।

अन्य अवस्थामा पाँच लाखदेखि २० लाखसम्मको उद्योग दर्ताका लागि पाँच हजार लाग्ने गरेको थियो । त्यसैगरी २० लाखदेखि ५० लाखसम्म पुँजी भएको उद्योग दर्ताका लागि १५ हजार र ५० लाखदेखि एक करोडसम्म पुँजी भएको उद्योग दर्ताका लागि २५ हजार शुल्क लाग्ने गरेकोमा अहिले निःशुल्क हुने गरेको छ ।


SHARE THIS