
दाङ,भदौ १८ । रुकुम पश्चिममा पत्नीले पतिको हत्या गरी शवलाई डोको बोकेर भिरबाट फालेकी छन् । बाफिकोट गाउँपालिका १० की २२ वर्षीया अन्जना पुन बुढाले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ वर्षीय पति भीमबहादुर बुढाको हत्या गरी भिरबाट शव फ्यालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै पतिको हत्या गरेकी थिइन् । पछि शव डोकोमा बोकेर स्थानीय टुटुरे जंगलको भिरमा लगेर फालेको प्रहरीको भनाइ छ । सुरुमा हत्या आरोपी अन्जनाले आफ्ना पति भदौ १० गते साँझ ८ बजेतिर कसैलाई जानकारी नदिएर घरबाट निस्किएर बेपत्ता भएको बयान प्रहरीमा दिएकी थिइन् ।
भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे टुटुरे भिरको जंगलमा फेला परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आशंका लागेर भदौ १७ गते पत्नी अन्जनालाई पक्राउ गरेको थियो । सोही दिन सोधपुछका क्रममा अन्जनाले पतिले हत्या आफैंले गरेको स्विकारेकी थिइन् ।
मदिरा सवेन गरी आफूसँग विवाद गर्न थालेपछि सुत्ने कोठमा लाठीले हानेर हत्या गरेको उनले प्रहरीमा बयान दिएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।