दाङमा कोरोना कहरका बीच पनि २ सय बढी उद्योग थपिए



दाङ,असोज,१२ । दाङमा कोरोना कहरकाबीचपनि २ सय बढी उद्योग थपिएका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २ सय ६५ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले जानकारी दिए । साउनमा १ सय ६५ र भदौमा १ सय वटा उद्योग नयाँ थपिएको बताए ।


कोरोनाका कारण रोेजगारीका अवसर गुम्दै गएपछि रोजगारी स्थापना गर्न दाङमा साना उद्योगमा लगानी हुन थालेको हो । कोरोना कहरका कारण अधिकांश नागरिक घरमा रहेकाले विभिन्न किसिमका उद्योगमा लगानी गर्ने क्रम बढेको उनको भनाई छ ।


जिल्लामा चालुवर्षमा मात्रै करिब आधा अर्ब उद्योगमा लगानी भएको छ । साउन र भदौ महिनामा मात्रै उद्योगमा ४९ करोड ९६ लाख ८० हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय घोराहीले जनाएको छ । गत आर्थिक वर्षमामात्रै जिल्लामा विभिन्न प्रकृतिका ७ सय ३१ वटा उद्योग दर्ता भएको छन् भने ति उद्योगमा करिब १ अरब २० करोड ८७ लाख ४२ हजार ३२७ रुपैयाँ लगानी भएको छ ।


SHARE THIS