मिलानको फराकिलो जित


दाङ, असोज १५ । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बेनेभेन्टोलाई ५–२ गोलले पराजित गरेको हो ।

बेनेभेन्टोको घरेलु मैदानमा भएको खेलमा खेलको एक मिनेट नहुँदै मिलानले अग्रता लिएको थियो । पहिलो मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाए । 

२५ औं मिनेटमा रोबेर्टो गाग्लीआर्डिनीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको तीन मिनेट नबित्दै लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए । ३४ औं मिनेटमा बेनेभेन्टोका जिअन्लुका काप्रारीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । 

पहिलो हाप सकिन तीन मिनेट बाँकी रहँदा आर्चफ हाकिमीले गोल गर्दै मिलानलाई पहिलो हाफमा खेल ४–१ को स्थितीमा ल्याए । दोस्रो हाफमा भने दुबै टोलीले एक एक गोल गरेका थिए । ७१ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । ७६ औं मिनेटमा काप्रारीले गोल गर्दै खेल ५–२ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल मिलानले जितेको हो । 

जितसँगै मिलानले लिगमा लगातार दोस्रो जित निकालेको छ । यता बेनेभेन्टो भने दुई खेल खेल्दै एकमा जित र एक खेलमा हार व्यहोरेको छ । 


SHARE THIS