कतारमा रहेको नेपाली दूतावासले भन्यो- अमर्यादित कार्य गरे कारबाही



काठमाडौं,असोज ८ । कतारमा रहेको नेपाली दूतावासले सार्वजनिक स्थलमा अमर्यादित तथा असामाजिक गतिविधिमा संलग्‍न नहुन त्यहाँ रहेका नेपालीहरुमा अनुरोध गरेको छ ।

दूतावासले विगत केही सातायता कतारमा रहेका नेपालीहरु कतारको संस्कृति तथा नियम कानुनविपरीत कार्य गरेको पाइएको बताएको छ । कतारको प्रमुख आकर्षण रहेको कोर्निसलगायत सार्वजनिक स्थलहरुमा विशेषगरी सप्ताहन्तमा भेला भई अमर्यादित, असामाजिक रुपले प्रस्तुत हुने तथा झगडासमेत गर्ने गरेको र त्यस्ता घटनाहरु सामाजिक सन्जालमार्फत सार्वजनिक हुने गरेको विषयमा दूतावासले ध्यानाकर्षण भएको जनाएको हो ।

‘‘कतारमा रोजगारीमार्फत जीविकोपार्जन तथा जीवनस्तरमा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्यबाट विचलित भई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचबिखन गर्ने, होहल्ला तथा झगडा गर्ने, अमर्यादित क्रियाकलापमा संलग्न हुने गरेको लगायत घटनाको परिणामस्वरुप व्यक्ति स्वयंले स्थानीय कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्ने त हुन्छ नै यस्ता घटनाले समस्त नेपाली समाज र नेपाल राष्ट्रकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउनुका साथै कतारमा रहेका अन्य समुदायका बीचमा नेपाली समुदायको छविमा समेत नकारात्मक सन्देश प्रवाहित हुनजान्छ,’’ दूतावासद्वारा जारी विज्ञप्ति भनिएको छ ।

आगामी दिनमा यस्ता क्रियाकलाप जारी रहेको पाइए कतारको स्थानीय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्‍न व्यक्तिलाई स्थानीय कानुनबमोजिम कारबाहीका लागि अनुरोध गर्न दूतावास बाध्य हुनेसमेत विज्ञप्तिमार्फत सचेत गराइएको छ ।


SHARE THIS