कात्तिक ७ सम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई समितिको निर्देशन



काठमाडौं,असोज ५ । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । संसदको विकास तथा प्रविधि समितिले २०७७ कात्तिक ७ गतेभित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् । ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुको प्रशारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे पनि मन्त्रालयको धारणा पनि १५ दिनभित्र पेस गर्न समितिले निर्देशन दिएको छ । 

समितिमा आज विज्ञहरु र सञ्चारमन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि स्वदेशी टीभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टीभीको प्रसारणमा नेपाली विज्ञापन नराख्‍न पनि निर्देशन दिएको छ ।


SHARE THIS