आजदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन हुने



काठमाडौं, असोज १ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालन हुने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् ।

सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ । यता दाङका यातायात ब्यवसायीले पनि विश्वकर्मा पूजा गरेर गाडी सञ्चालन गर्ने बताएका छन् । काठमाडौं, भैरवा, पोखरा लगायत ठूला सहरमा यातायात संचालन गर्न ब्यवसायिले जनाएका छन् ।

यसैबिच, सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउदा वायुसेवा कम्पनीलाई फाइदाको सट्टा घाटा हुने भन्दै वायुसेवा सञ्चालकहरूले उडान नगर्ने जनाएका छन् ।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ । नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयनको मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपालका कोषाध्यक्ष रुपेश जोशीले बताउनुभयो । आधा मात्र यात्रु बोकेर उडान गर्दा कम्पनीको ठूलो नोक्सान हुने उहाँको दाबी छ ।


SHARE THIS