
धादिङ, भदौ १९ । राति सवा १ बजे जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा आएर एक युवकले ‘मान्छे मारेर आएको हुँ’ भनेपछि सेन्ट्रीमा खटिएका प्रहरी झसंग भए ।
सुरुमा त उनले युवकको दाबीमा विश्वास गरेनन् । तर उनले बोकेको झोलामा रगत लतपतिएको देखेपछि प्रहरी निरीक्षक सरोज राईलाई रिपोर्ट गरे । राई आएपछि धादिङको निलकण्ठ नगरपालिका–१३, खलचेतका २६ वर्षीय राजु परियारले झोलाबाट मानिसको टाउको निकालेर देखाइदिए ।
‘मैले मान्छे मारेर आएँ भनेपछि झोला खोलेर हेर्दा टाउको भेटियो’, राईले सुनाए, ‘त्यसपछि प्रहरी टोली अपराधस्थलतर्फ गएको थियो ।’
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार अनुसन्धानका क्रममा खुर्पाले हानेर खलचेतकै ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर परियार प्रहरी कहाँ आत्मसमर्पण गर्न आएको खुलेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार अपराधस्थलबाट सामान्य अवस्थामा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्न गाडीमा डेढ घन्टा लाग्छ । ‘उनी रातको समयमा हिँडेरै जिल्लासम्म आएको पाइएको छ’, रेग्मीले भने ।
अहिले प्रहरीले अपराधस्थलमा पुगेर बलको प्रकृति मुचुल्का गरिसकेको छ र पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । प्रारम्भिक सोधपुछमा सामान्य विवादका क्रममा घटना भएको पाइएको रेग्मीले बताए ।
घटनाबारे थप अनुसन्धान जारी छ ।