क्यान अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना संक्रमण


काठमाडौं, असोज १५ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

 चन्द र प्याकुरेल असोज ६ गते चितवनमा बसेको क्यानको कार्यसमितिको बोर्ड बैठकमा सहभागी भएका थिए । चितवनमा बोर्ड बैठक सकेर काठमाडौं फर्किएका चन्दको स्वास्थ्यमा केही समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै चन्दले कोरोना परीक्षण गराएका थिए ।

चितवनबाट काठमाडौं फर्किएका सचिव प्याकुरेललाई पनि कोरोनाको लक्षण देखिएको थियो । प्याकुरेल चितवनबाट फर्कनासाथ आइसोलेसनमा बसेका थिए । त्यसपछि परीक्षण गर्दा उनलाई पनि कोरोना संक्रमण देखिएको क्यान स्रोतले जनाएको छ ।

हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ । दुवैजना सेल्फ क्‍वारेन्टिनमा बसेका छन् । बोर्ड बैठकका बेला उनीहरुसँग सम्पर्कमा आएकाहरुले पनि कोरोना परीक्षण गरेको जनाइएको छ ।


SHARE THIS