गढवामा सकियो गरिब घर पहिचानकालागि तथ्यांक संकलनको काम



सन्तोषकुमार गुप्ता, शिबराज पन्थीर दाङ, असोज १२ । 

दाङको गढवा गाउँपालिकाले गरिब घर पहिचान गरी परिचय पत्र वितरण गर्न तथ्यांक संकलनको काम सकेको छ । नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणकालागि वडागत तथ्यांक संकलन गर्ने काम सकिएको हो। गाउँपालिकाले ८ वटै वडामा गणक खटाएर फागुन ८ गतेदेखि सुरु भएको तथ्यांक संकलनको काम सकिएको गढवा गाउँपालिकाका सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिनुभयो ।

गणकहरुले घर-घरमा पुगेर संकलन गरेको बिवरण अनलाईन प्रबिधिबाटै मन्त्रालयमा पठाइएको छ । अबको केहि महिना भित्रै मन्त्रालयले गणकहरुबाट संकलन भएको तथ्यांकको आधारमा परिचय पत्र दिन योग्य घरधुरीहरुको डाटा पठाउने छ । त्यसै अनुरुप गरिब घरपरिवार पहिचान गरी राज्यबाट प्रदान गरिने सेवा सुविधाको मापदण्ड बमोजिम नागरिकहरुलाई परिचय–पत्र वितरण गरिने अर्यालले बताउनुभयो।

जस अनुसार गढवा गाउँपालिकाको वडा नम्बर १ मा कुल १ हजार ३ सय २६ घरधुरी सर्भेक्षण गरिएको गणक सरिता कुमालले बताउनुभयो। त्यसैगरी वडा नम्बर २ मा सरिता रानामगर र सुभाति थारु कुमाल गणकको रुपमा खट्नु भएको र वडा नं। २ मा ९ सय १० र ३ मा ८ सय ९७ घरधुरीको तथ्यांक लिइएको बताइएको छ ।

त्यस्तै वडा नम्बर ४ र ५ मा अञ्जना चौधरी र सुभाति थारु कुमालले क्रमशः १ हजार ५५ र १ हजार १ सय ३३ घरधुरी सर्भेक्षण गरी तथ्यांक संकलन गरेको बताउनुभयो । यसैगरी वडा नम्बर ६ मा सपना पौडेलले १ हजार ४ सय ४१ घरधुरीको तथ्यांक संकलन गरेको बताउनुभयो भने वडा नं। ७ मा रिमा चौधरीले १ हजार १ सय ८७ र वडा नम्बर ८ मा अञ्जना चौधरीले १ सय ४५ घरधुरीको तथ्यांक संकलन गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका आठवटै वडाहरुबाट कुल ८ हजार ९४ घरधुरीको तथ्यांक संकलन गरेको र सबैको बिवरण भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयमा पठाईसकेको गाउँपालिकाका सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिनुभयो । दाङका अन्य केही पालिकाले पनि तथ्यांक संकन गर्ने काम सकिसकेका छन् भने केही पालिकाले संकलन कार्य गरिएको बुझिएको छ ।


SHARE THIS