सरकारले चाडपर्व लक्षित गरी खाद्यान्‍न मौज्दात बढाइँदै

पाँचथरका स्थानीय तहमा खाद्यान्न ...
काठमाडौं,भदौ १० । सरकारले चाडपर्वलाई लक्षित गरेर खाद्यान्‍नको मौज्दात बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ लाख टन खाद्यान्‍न मौज्दात पुर्‍याउने गरी काम गरिरहेको जनाएको छ ।
कम्पनीसँग हाल १२ हजार बढी टन खाद्यान्‍न छ । १० हजार टन खरिद गरेर विभिन्‍न भण्डार गर्ने ठाउँमा ल्याउने काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । “अहिले १२ हजार टनभन्दा बढी मौज्दात छ । निजी क्षेत्रको पनि आपूर्ति रोकिएको छैन, त्यसैले कुनै समस्या छैन, हुँदैन” उनले भने, “खाद्यान्‍न मौज्दात बढ्ने क्रममा छ, घट्ने क्रममा छैन ।”

कम्पनीले एक लाख टन खाद्यान्‍न मौज्दात छिट्टै पुर्‍याउने तयारी गरेको छ । प्रदेशबाट पनि खाद्यान्‍नको माग आइरहेको उनले बताए । “प्रदेश २ र कर्णाली प्रदेशले थप खाद्यान्‍न चाहियो भन्नुभएको छ । प्रदेश स्तरमा पनि थप्ने योजना छ,” उनले भने, “हामीले बढाएर एक लाख टन पुर्‍याउने भनेका छौं ।”

मूल्यमा हस्तक्षेप गर्छौं
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसमेत रहेको सुवेदीले चाडपर्वका बेला बजारमा हुन सक्ने कालोबजारी रोक्न हस्तक्षेप गरिने बताए । “चाडपर्वको बेलामा निजी क्षेत्रले अत्यावश्यक खाद्यान्‍नको मूल्य बढाउन पनि सक्छन्,” उनले भने, “बजारमा मूल्यमा जथाभावी गर्न सक्छन् भनेर नै सार्वजनिक संस्थानले मौज्दात राख्‍ने र बजारमा हस्तक्षेप गर्ने हो ।”

उनले निजी क्षेत्रलाई उछिन्‍न खोजेर नहुने तर मूल्यमा जथाभावी गर्न नदिन हस्तक्षेप गर्ने गरेको बताए । “खाद्यान्‍न बढी निजी क्षेत्रसँगै हुन्छ, त्यसको नियमन गर्नुपर्ने हुन्छ, हामी गर्छौं,” उनले भने ।

सुपथ मूल्यमा पसल सञ्‍चालन गरिने
महानिर्देशक सुवेदीले खाद्यान्‍नको मूल्यमा हस्तक्षेप गर्न र सहज आपूर्तिका लागि यसपटक पनि सुपथ मूल्यका पसल सञ्चालन गरिने बताए । उनले हालको अवस्थालाई ध्यानमा राख्दै गत वर्षमा सञ्‍चालन गरिएजस्तै उपकात्यका सहित विभिन्‍न ठाउँमा सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने सल्लाह भइरहेको बताए । “सुपथ मूल्यमा पसल पनि सञ्‍चालन गर्छौं र  व्यवस्थित एवं वैधानिक तरिकाले चलाउँछौं,” उनले भने ।

यता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउन, निषेधाज्ञाले वितरण प्रणालीमा केही असर पर्न सक्ने बताए । “तर, खाद्यान्‍नमा कुनै समस्या छैन र हुँदैन,” उनले भने । विवरण प्रणालीमा केही असर हुन सक्छ तर दसैं, तिहार, छठमा दैनिक उपभोग्य खाद्यान्‍नको कुनै अभाव वा समस्या नहुने गरी व्यवस्था गर्ने उनले बताए । “चाडपर्वका बेलामा पनि खाद्यान्‍न अभाव हुँदैन, ढुक्क हुनुहोस्,” उनले भने ।

SHARE THIS