दाङको राप्ती गाउँपालिकामा समुदाय स्तरमा फैलियो कोरोना संक्रमण

No description available.

सन्तोषकुमार गुप्ता 
भालुवाङ, भदौ ११ । दाङ(देउखुरी) को राप्ती गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । आज राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हो ।

लमही स्थित नेत्रलाल स्मृति प्रतिष्ठानमा स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसियार परिक्षण गर्दा ती पुरूषमा कोरोना भाइरस पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । ती पुरूषमा रूघाखोकी, ज्वरो सहितको लक्षण देखिएपछि उनलाई घोराहीको दीपज्योति हस्पिटलमा उपचार भईरहेको छ । आवश्यक भेन्टिलेटर र अक्सिजन सहितको उपचार गर्नुपर्ने अवस्था भएकोले दाङमा यो सम्भव नभएको राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन् । नेपालगञ्ज, बुटवलमा उपचारका लागि ठाउँ अभाब भएको हुँदा ती संक्रमित पुरूषलाई कहाँ लैजाने बिषयमा अन्यौल रहेको स्वास्थ्य शाखा संयोजक राउत बताए ।

यता समुदायसतरमै कोरोना संक्रमण देखिएपछि राप्ती गाउँपालिकाको ५ वटा टोल सिल गर्न लागिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले भदौ १२ गते राती १२ बजे देखि भदौ १९ गते राती १२ बजे सम्म सिल हुने भएको छ ।

बैठकले गाउँपालिका क्षेत्र भित्र समुदाय स्तरमा कोभिड १९ को संक्रमण फैलाउट रोकथाम न्युनीकरण र नियन्त्रणका लागि वडा नम्बर १, ४ र ८ का ५ वटा टोललाई ७ दिन सम्मका लागि शिल गर्ने निर्णय गरेको छ।   जस अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र, पाखापानी क्षेत्र त्यसै गरी वडा नम्बर ४ को बुढीचौर , मौरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा शिल हुने भएका छन् ।
त्यसैगरी बैठकले गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा९बस, माइक्रो,अटो ,टेम्पो र अन्य सवारीसाधान० आर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले आलोपालो गरी कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय गरेको छ ।

SHARE THIS