आज ८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज, १२ जनाको मृत्यु

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं, भदौ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ। यो निको हुनेको संख्या ५५ प्रतिशत हो ।

यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २०७ पुगेको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताउनुभयो ।

उहाँका अुनसार २४ घण्टामा मृत्यु हुनेमध्ये तीन महिला र ९ पुरुष रहेका छन्। कोरोना संक्रमणाबाट मृत्यु हुने महिलामा पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया छन् ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुने ९ जना पुरुषमध्ये पर्सा र ललितपुर जिल्लाका २–२ तथा सिरहा, भक्तपुर, काठमाडौं, गोरखा र कास्कीका १–१ जना छन् ।

कोरोना संक्रमणबाट पर्साका ४८ र ४९ वर्षीय तथा ललितपुरका ६१ र ६४ वर्षका २–२ गरी ४ पुरुष छन् । यस्तै, सिरहाका ८४ वर्षीय, भक्तपुरका ८२ वर्षीय, काठमाडौंका ८३ वर्षीय, गोरखाका ३८ वर्षीय र कास्कीका ५८ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

SHARE THIS