
सन्तोषकुमार गुप्ता,
दाङ, भदौ २। भारतबाट ल्याएका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि दाङ देउखुरीको सम्राट सिमेन्ट उद्योगलाई तत्काल सिल गर्नुपर्ने माग गरिएको छ। लमही नगरपालिका वडा नं। ७ स्थित सम्राट सिमेन्ट उद्योगले हालसालै ४० जनाभन्दा बढी भारतीय कामदारलाई उद्योगमा ल्याएको थियो । उद्योगमा आएका कामदारलाई आन्तरिक क्वारेन्टाइनमा राखिएको दावी उद्योगले गरेको छ। तर, ती कामदार भारतबाट आए लगत्तै उद्योगभित्र काममा खटिएको स्थानीयले बताएका छन्। उद्योगभित्र कामदारमा कोरोना देखिएपछि उद्योग आसपासका वस्तीमा त्रास फैलिएको छ।
कमानपुर, वनगैं, हस्नापुर, खुट्टी गाउँमा कोरोनाको जोखिम रहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी वडा कमिटिले उद्योग तत्काल सिल गरी पिसिआर जाँचको दायरा बढाउन माग गरेका छन्। उद्योगले लकडाउन अवधीमा समेत लापरबाही गरेपनि नियन्त्रण गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले चासो नदिएको समेत दावी गरिएको छ। वडा कमिटि अध्यक्ष ओमराज गिरी र सचिव धुब्रबहादुर चौधरीले उद्योगलाई ध्यानाकर्षण गराउनुभएको छ ।