पहिरोका प्रत्यक्षदर्शी भन्छन्- दुई मिनेटमै सर्वनाश

पहिरोका प्रत्यक्षदर्शी भन्छन्- दुई मिनेटमै सर्वनाश
काठमाडौं,साउन ३० । बिहीबार रातभरि पानी परेको थियो । दुई(तीनदिन थामिएको पानी राति एकैपटक पर्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीका आशाबहादुर दोङको मनमा संशय पनि उत्पन्‍न भएको थियो ।

गाउँमुनिका खेतका गह्रा पनि फुटेका छन् । बस्तीमाथि पनि धाँजा फाटेर मानिस छिर्न मिल्ने चिरा परेका छन् । कतै गाउँ सोहोर्ने त होइन रु उनले पूरा सोच्‍न पनि भ्याएका थिएनन्, एक्कासि धाँजा फाटेका मुनिपट्टि सानो पहिरो चल्यो ।

उनले पहिरो जानथाल्यो भनेर गाउँलेलाई सचेत गराउन पनि पाएनन् । ठूलो आवाजका साथ पहिरो चलिहाल्यो । त्यसपछि के(के भयो उनी सम्झन सक्दैनन् । दुई मिनेटमै गाउँलाई आधा छिमल्यो । डेढ सयभन्दा बढी घर रहेको झुरुप्प परेको बस्ती आधा पहिरोले निल्यो ।

पहिरोले ३७ घरमा क्षति पुर्‍याएको छ । ३८ जना हराएका मध्ये चारजनाको शव फेला परिसकेको छ । पहिरोले पुरेका स्थानमा चलमलाउन छाडेका हातखुट्टा देखिइरहेकाले जीवितै भेटिने सम्भावना रौंबराबर पनि छैन । “हेर्दाहेर्दा गाउँ छोप्यो । मैले केही सोच्‍नै सकिनँ । भूकम्प जाँदा पनि यति अताल्लिएको थिएन । म त ज्यान जोगाउन भागेछु । फर्किएर जाँदा सबै कुरा छोपिसकेको थियो,” आशाबहादुरले बाह्रखरीसँग भने ।

आशाबहादुरका अनुसार बस्तीको छेउछाउमा साना(ठूलो पहिरो चलेको थियो । बस्तीमाथि ठूल्ठूला धाँजा फाटेको थियो । बस्ती छेऊको खोल्सोमा सङ्लो पानी बग्न छाडिसकेको थियो । वर्षायाम, रातविरात पहिरो आएर छोप्ला भन्ने भयले उनीहरूले जिल्ला विपत् व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका थिए । “एकपटक होइन, पटकपटक हामीले ध्यानकर्षण गराएका थियौं । गत साउन २३ गते त गाउँले सबै भेला भएर माइन्युट नै उठाएर बस्ती सार्न निवेदन पनि दिएका थियौं, हाम्रो कुरा कसले सुन्‍नु हजुर,” उनले भने ।

जिल्ला विपत्‌मा पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले गाउँपालिका पनि गुहारे । गाउँपालिकाले त्रिपाल, पाल, प्लास्टिक आदि दिएको थियो । त्यही ओताएर उनीहरूले टहरा खडा गरेका थिए । धाँजा फाटेको ठीक मुनिपट्टिका र जोखिममा रहेकाहरू टहरमा बस्‍न पनि थालेका थिए ।

आशा भन्छन्, “गाउँका मानिसहरू के होला त भनेर कोही घरमै बस्ने कोही बिहानपख बस्तुभाउ स्याहार्न जाने हुँदा घटना घट्यो ।” आशाबहादुर सबैभन्दा बलियो मानिएको बस्तीलाई नै पहिराले निल्नुका दुईवटा कारण रहेको औंल्याउँछन् । २०७२ सालको भूकम्पले लिदीको जमिनलाई कमसल तुल्याएको छ । ठाउँठाउँका जमिनमा धाँजा फाटेकाले त्यही चिराबाट पसेको पानीले पहिरोको जोखिम निम्त्याएको उनको ठहर छ ।

“खेतबारी सबै फुटेकाले हामीले बस्ती सार्न उतिबेलै भनेका थियौं । पानी परेपिच्छे डराउनुपर्थ्यो । तर, सरोकारवालाले वास्ता नगरेकाले गाउँलेले केही हुँदैनहोला भन्ठाने,” उनी भन्छन् । उनका अनुसार भूकम्पपछि त्यस ठाउँमा धेरै पहिरो चलेका छन् । १५/२० दिनअघि पनि बस्तीभन्दा केही पर, तल पहिरो चलिसकेको थियो ।
शुक्रबार गएको पहिरोको पीडितसमेत रहेका आशाबहादुर दोस्रो कारण माथिल्लो बलेफी जलविद्युत् परियोजनालाई पनि देख्छन् । ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् आयोजनाले सुरुङ खन्दा गाउँ थिल्थिलिएको उनको आरोप छ । आयोजना सुरु भएपछि गाउँमा चिरा देखा परेको, जमिन भास्सिएको अनुभव गरेको उनी बताउँछन् ।

अर्का स्थानीय रोहित लामाको पनि त्यही तर्क छ । गाउँभन्दा मुनि जलविद्युत् आयोजनाका काम भइरहेको, सुरुङ खन्‍ने क्रममा ब्लास्टिङ आदि गर्दा थाउँ थर्किएको र पहिरोको जोखिम निम्त्यिएको उनी बताउँछन् । “हामीले पटकपटक जलविद्युत् आयोजनालाई पनि भनेका छौं । हामी आयोजनाको विरोधी त होइनौं । भूकम्पपछि उसै त जमिनमा धाँजा फाटेको छ । त्यसमाथि ब्लास्टिङ गर्दा थप चर्कन पुग्यो । बस्ती सार्न तपाईंहरूले पनि भनिदिनुपर्‍यो भनेर आयोजनालाई नभनेको होइन । सीडीओ कार्यालयलाई पनि पत्र दिएका थियौं । कसैले सुनेनन् । यो दिन देख्नुपर्‍यो,” उनी गुनासो गर्छन् ।

SHARE THIS