५५ जना कर्मचारीको राजीनामापछि अस्पतालको आकस्मिक सेवा अवरुद्ध

नोबेल शिक्षण अस्पतालका ५५ स्टाफ ...
विराटनगर,भदौ १० ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सिङ स्टाफ र पारामेडिक्स गरेर ५५ जनाले एकैपटक राजीनामा दिएका छन् ।
आकस्मिक सेवामा कार्यरत उनीहरुले मंगलबार साँझ अस्पताल प्रशासनलाई राजीनामा बुझाएका हुन् ।
आकस्मिक विभागमा स्टाफ नर्स र पारामेडिक्स गरेर ५५ जना कार्यरत थिए । उनीहरुले एकै पटक राजीनामा दिएपछि अस्पतालको आकस्मिक सेवा बुधबारबाट अवरुद्ध बनेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सेवा सुविधाका विषयमा प्रशासनसँग कुरा नमिलेपछि ५५ जनाले राजीनामा दिएको पुष्टि गरे ।

राजीनामाका कारण सेवा अवरुद्ध भएपछि अरु विभागमा कार्यरतहरुलाई ल्याएर आकस्मिक सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

नर्सिङ स्टाफ र पारामेडिक्सले पारिश्रमिक वृद्धि नगरिएको, व्यक्तिगत सुरक्षामा अस्पतालले ध्यान नदिएको, पारिश्रमिक नियमित नभएको, प्रोत्साहन भत्ता नदिएको र आवश्यक सुरक्षा सामग्री बिनानै काममा लगाउने गरिएको भन्दै राजीनामा दिएका हुन् ।

SHARE THIS