कर्णालीमा पहिरो र चट्याङमा परी ४ जनाको मृत्यु, ५ घाइते



सुर्खेत, भदौ ३ । पहिरो र चट्याङमा परी कर्णालीमा चारजनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको हो ।

मंगलबार राति नै चट्याङ लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा दैलेखको भगवतीमाई गाउँपालिका ५, कट्टीका ६६ वर्षीय बलबहादुर रावत र ठाँटीकाँध गाउँपालिका(४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पहिरोमा परी एकै परिवारका ४५ वर्षीय टिकाराम कठायत, ११ वर्षीय लोकेश कठायत, ४१ वर्षीया धनसरा कठायत र १५ वर्षीय शम्शेर कठायत र छिमेकी बमबहादुर नेपाली पनि घाइते भएका छन् ।

यस्तै सुर्खेतको सिम्ता गाउँपालिका १, गान्कारंगे खत्रीको घर पहिरो बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट छेडागाड नगरपालिका १ का वीरबहादुर नेपालीको घरमा चट्याङ पर्दा एक बालकको मृत्यु भएको छ । वीरबहादुरका छोरा ३ वर्षीय सोमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

SHARE THIS