कोरोना संक्रमणको जोखिमलाई ख्याल गरी स्वास्थ्य सुरक्षा अपनाउन अपिल

घोराही उपमहानगरपालिकाको आर्थिक ...
दाङ, भदौ २। घोराही उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई ख्याल गरी स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई अपिल गरेको छ । कोरोना संक्रमण र मृत्युको दर बढ्दै गएको भन्दै उपमहानगरपालिकाले सरकारले गरेका निर्णय र स्वास्थ्यकर्मीले दिएका सुझाबलाई अनिवार्यरुपमा पालना गर्न अपिल गरेको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विज्ञप्ती जारी गर्दै सबैलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न, स्यानिटाईजर र साबुनको प्रयोग गर्न, भिडभाड नगर्न र नजान, भौतिक दुरी कायम गर्न आग्रह गर्नुभएको हो ।

साथै आउँदै गरेका चाडपर्वलाई समेत विषेश ध्यान दिएर घर परिवारमै मनाउन विज्ञप्तीमा आग्रह गरिएको छ । नगर क्षेत्र भित्र कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला, जमघट र नाँचगान नगर्न समेत आग्रह गरिएको छ ।
व्यक्ति अनुशासित र सचेत भए मात्रै कोरोना संक्रमणबाट बच्न सकिने भएकाले आबश्यक स्वास्थ्य मापदण्डको पालना गर्न प्रमुख प्रशासकिीय अधिकृत केसीले अपिल गर्नुभएको छ ।

यसैबीच घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम र नागरिक स्तरमा सचेतना जगाउने कार्यमा खटेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई सम्मान गरेको छ । उपमहानगरको स्वास्थ्य शाखाले आफ्ना स्वास्थ्य संस्थाहरु सहित नगर भित्र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कार्यालय एवं संस्थाहरुलाई सम्मान गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले उपमहानगरका १९ वटै वडामा रहेका स्वास्थ्य सस्था र अन्य सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।

उपमहानगरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, सुआहारा सहित २३ वटा स्वास्थ्य संस्था एवं कार्यालय र व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मान पत्र प्रदान गर्दै नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्यकर्मीहरु प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । विश्वमै महामारीकोरुपमा फैलिएको कोरोनालाई नियन्त्रण गर्न पहिलो पंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

उपप्रमुख न्यौपानेले संकटको अबस्थामा अहोरात्र खटेर नागरिकहरुलाई सुरक्षित बनाउने जिम्मेवारीमा रहेको भन्दै स्वास्थ्यकर्मीहरु प्रति सम्मान व्यक्त गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत केसीले कर्मचारीको उच्च मनोबल र जिम्मेवारी अनुसारको काममा खटाईले नगरलाई सुरक्षित राख्न सकिने उल्लेख गर्नुभयो ।

SHARE THIS